छाडा पशु व्यवस्थानका लागि गौशाला

कञ्चनपुर । स्थानीय तहसँगको सहकार्यमा कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि गौशाला संरचना निर्माण गरिने भएको छ ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीय तहसँगको साझेदारीमा दुई करोडको लागतमा चार स्थानमा गौशाला निर्माणका लागि कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यालयको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सामुदायिक पशुको व्यवस्थापनका लागि ‘गौशाला निर्माण व्यवस्थापन कार्यविधि’अनुरुप सुदूरपश्चिम प्रदेशको ७५ प्रतिशत र स्थानीय तहको २५ प्रतिशत लागत साझेदारीमा गौशालाका संरचना निर्माण हुन लागेको केन्द्रका सूचना अधिकारी खडकबहादुर पाण्डेले जानकारी दिए ।
‘स्थानीय तहबाट कार्यपालिकाको निर्णयसहित गौशाल निर्माणका लागि साझेदारी प्रस्ताव ३० दिनभित्र पेस गर्न सार्वजनिक सूचना प्रकाशित गरेका छौँ,’ उनले भने, ‘यसबारे जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरिसकेकाछौँ ।’
पाण्डेका अनुसार छाडा सामुदायिक पशु समस्या भएको, दिगो रुपमा सञ्चालन गर्न सकिने, कम्तीमा पाँच सय ठूला पशु व्यवस्थापन हुने स्थानसहित चरन क्षेत्रको व्यवस्था भएको क्षेत्रलाई प्राथमिकतामा राखेर गौशालाका संरचना निर्माण गरिने छन् ।
गौशाला निर्माण तथा सुदृढीकरणमा सहकार्य गर्ने स्थानीय तहले प्रस्तावसहित सम्बन्धित पालिकाको कार्यपालिकाको निर्णय र जग्गा उपलब्ध गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको उनले बताए ।
प्रतिक्रिया