मंगलबार, वैशाख ३०, २०८२

मुख्यमन्त्री कार्कीद्वारा बुधबारे सडकको शिलान्यास

नेपालखोज २०८० मंसिर २३ गते १४:४३

मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ग्रामीण भेगदेखि सहरसम्म सहज आवतजावतका लागि सडक यातायात महत्वपूर्ण रहेको बताएका छन् ।

मोरङको उत्तरी भेगमा पर्ने लेटाङ ६ नं बुधबारे सडकखण्डको शुक्रबार शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले सडकको पहुँचबाट जनजीविकामा समेत प्रत्यक्ष सहजीकरण हुने बताए।

मोरङको विकट भनिएको उत्तरी क्षेत्रबाट कृषि उपजदेखि अन्य सहजताका लागि सडक सञ्जाल अति आवश्यक रहेको भन्दै मुख्यमन्त्री कार्कीले सो क्षेत्रमा निर्माण हुने सडकले पहाडी भेगलाई प्रदेश राजधानी विराटनगरसम्म जोड्ने बताए।

उनले भने, ‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पु¥याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पुर्‍याउनका लागि महत्वपूर्ण हुने अपेक्षा छ।’

२९ दशमलव ६० किलोमिटर लम्बाई रहेको सडकले पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत सहजता दिने मुख्यमन्त्री कार्कीले बताए।

प्रदेश सरकार विकास र समृद्धितर्फ अघि बढेको बताउँदै मुख्यमन्त्री कार्कीले अन्य आयोजनाको छनोट गरी आवश्यकताका आधारमा निर्माण हुने प्रस्ट्याए। कार्यक्रममा निर्माण व्यवसायीलाई इंगित गर्दै मुख्यमन्त्री कार्कीले सडक निर्माण कार्य उल्लिखित समयभित्र सम्पन्न गरी नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिए।

उनले निर्माण हुने सडकखण्ड प्रदेशको रणनीतिक योजनाको सडकको निर्माण भएको उल्लेख गरे। ८७ करोड ३ लाख ५३ हजार रुपैयाँमा सन्तोषी–जोया एण्ड ब्रदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी सडक निर्माणको सम्झौता गरेको छ ।रासस

प्रतिक्रिया