पश्चिमी वायुको आंशिक प्रभाव : तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका केही भू–भागमा आज हिमपात र हुस्सु तथा कुहिरो लाग्ने साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहान तराईका भू–भागहरूमा लागेको हुस्सु र कुहिरो लागेको छ । मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।
प्रतिक्रिया