भूकम्पपीडित त्रिपालमै, दुई पालिक सहायता रकम पाउने आशमा

जाजरकोट । कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ ।
घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् ।
विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्र्घष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न एक लाखभन्दा बढी खर्च हुने अनुमान छ । भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि पर्याप्त ठाउँ पनि छैन ।
नयाँ अस्थायी आवास निर्माण गर्नभन्दा भूकम्पबाट छिया, छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित छ । अस्थायी आवास निर्माणका लागि खत्रीको खातामा अहिलेसम्म रकम प्राप्त भएको छैन । राज्यले दिने रकमको प्रतीक्षामा उनी छन् ।
आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले चार महिना खाना नपुग्ने सर्वसाधारणलाई आर्थिकरुपमा बलियो हुने समय नपाउँदा अब कसरी परिवारका समस्या हल गर्ने भन्दै चिन्तामा परेको बारेकोट गाउँपालिका–१ सिल्र्पाचौरका कालीबहादुर बुढाले बताए । उनले भने, ‘यता घर भत्किएका छन्, त्रिपालबाट कहिले निस्कने बाबा ?, हाम्रो घर कहिले बनाउने भन्दै छोरा, छोरीले हजार पटक प्रश्न गर्छन् ? अब के उत्तर दिनु ।’
प्रतिक्रिया