पाथीभरामा केबुलकार निर्माण सुरु गर्न स्थानीयको माग

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबुलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमनले पाथीभरा सो क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबुलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्वक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएको थियो ।
सो समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरुसँग समेत अन्तरक्रिया गरी राय लिएको र सबैले केबुलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबुलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
यसै विषयमा केन्द्रित रहेर शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उक्त केबुलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरुसँग अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबुलकार बन्ने चर्चामात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए । उनीहरुले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवासीहरुले प्रत्यक्ष लाभ लिनसक्ने यस आयोजना तत्कालै अघि बढाउनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए ।
उनले राज्य आफैँले अर्थात् तीनै तहको सरकारले लगानी गरेर केबुलकार परियोजना निर्माण गर्न नसक्ने बताउदै लगानी गर्न इच्छुक निजी कम्पनीलाई काम गर्ने वातावरणका लागि स्थानीय तयार हुनुपर्ने मात्र नभई आवश्यक सहयोग गर्नुपर्ने धारणा राखे । उनले स्थानीय नागरिकले राखेका मागहरुका सम्बन्धमा लगानीकर्ता र उनीहरु बस्नुपर्ने र त्यसका लागि पनि स्थानीय तहले सहजीकरण गर्नुपर्ने सुझाव दिए ।
ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताए । उनले आवश्यकताअनुसार निरन्तर छलफलमा बसेर सहमति जुटाई काम थाल्नमा ढिलो गर्न नहुने बताए ।
त्यसैगरी, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबुलकार परियोजना निर्माण गर्नु जिल्लावासीको हितमा रहेको बताए । व्यक्तिगत स्वार्थ र पुराना सोच राखेर अहिले विकास निर्माणका कामलाई कसैले पनि अवरोध गर्न नहुने उनको भनाइ थियो । उनले भने, ‘मुलुकका धेरै क्षेत्रतिर अहिले धमाधम पर्यटन पूर्वाधारहरु निर्माण भइरहेका बेला हामीले मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबुलकार बन्न लागेको काममा बाधा उत्पन्न गर्यौँ भने हामी आफैँ पछि पर्नेछौँ । त्यसैले सबै पक्ष बसौँ, आफ्ना कुरा राखौँ र समझदारी बनाई निर्माणको काम थालौँ ।’
कस्तो बन्दै छ केबुलकार ?
कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबुलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्ने छ । मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबुलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए ।
मुख्य स्टेसनबाट १० मिनेट २० सेकेण्डमा केबुलकारको अन्तिम स्टेसन पुग्न सकिनेसमेत पौडेलले जानकारी दिए । केबुलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले जानकारी दिए । सो केबुलकारमा ४५ वटा डब्बा रहने पौडेलले जानकारी दिए । केबुलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवद्र्धनका लागि केबुलकार लाभदायक बन्ने विश्वास राख्दै यसबाट पहिलो लाभ यहीँका स्थानीयलाई पुग्ने बताए ।
उनले भने, ‘केबुलकार निर्माण गर्दा त्यसमा आवश्यक पर्ने जनशक्तिका लागि स्थानीयलाई नै प्राथमिकता दिँदै आएको छौँ । हामी आफैँले खर्च गरेर स्थानीयहरुलाई आवश्यक तालिम दिएर पनि रोजगारीमा लगाएका छौँ ।’
केबुलकार बने पछि ताप्लेजुङमा पर्यटकहरु सङ्ख्यामा वृद्धि हुनाका साथै स्थानीय उत्पादनको बजारीकरण हुने सरोकारवालाहरुको भनाइ रहेको छ । देशैभरि र भारतबाट समेत वर्षमा लाखौँ भक्तजन पाथीभराको दर्शनका लागि आउने गरेका छन् ।
प्रतिक्रिया