सालिकसहितको उद्यान निर्माण सम्पन्न

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो ।
बागलुङको भकुण्डे गाउँमा पहिलो पटक १० रोपनी जग्गामा ‘अतिथि सत्कार घरबास’ (होमस्टे) सञ्चालनमा ल्याएर ग्रामीण पर्यटनका अगुवाका रुपमा परिचय बनाएका क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा उनको अर्धकदको सालिकसहित उद्यान बनाइएको छ ।
उक्त पार्कमा निर्माण गरिएको क्याप्टेन गुरुङ स्मृति पार्कको मङ्गलबार प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्र थापाले उद्घाटन गरे । थापाले उद्यानमा राखिएको स्वर्गिय गुरुङको सालिकसमेत अनवारण गरेका थिए।
उद्यान उद्घाटन र सालिक अनावरणपछि पर्यटनमन्त्री थापाले ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्मित घरबासले यहाँको आर्थिकस्तर उकास्नुका साथै स्थानीयलाई रोजगारीको अवसरसमेत सृजना गरेको बताए ।
‘अर्गानिक खाना खुवाउँदा गाउँमा भित्रिएको रकम बाहिर पठाउन पर्दैन । समृद्ध गाउँको परिकल्पना गरेर घरबास सञ्चालन गरी पर्यटनका माध्यमबाट प्रशस्त सम्भवको पहिचान गरिएको छ’ उनले भने , ‘ग्रामीण पर्यटन तथा घरबासको परिकल्पनाकारको सम्झनामा निर्माण गरिएको सालिक र उद्यानले उहाँको कल्पनालाई साकार पारेको छ ।’
पर्यटनमन्त्री थापाले पार्कमा थप पूर्वाधार बनाउन आगामी वर्ष पर्यटन मन्त्रालयबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । भकुण्डेबासीको आर्थिक विकासकोे माध्यम बनेका घरबासलाई थप पूर्वाधार विस्तारका लागि प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लागेको छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको स्मृति पार्कमा अहिलेसम्म ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यहाँ मुलाबारी भ्यूटावर, सङ्ग्रहालयसँंगै पार्क निर्माण गरेपछि यहाँ आउने पर्यटकसमेत वृद्धि भएको स्थानीय बताउँछन् ।
घरबासको खानाका परिकारले मात्रै पाहुना आर्कषित नहुँने भन्दै पर्यटक रमाउने र बासको परिकल्पना गरेर पार्क निर्माण थालिएको स्मृति पार्क निर्माण समितिका सल्लाहकार एवं पर्यटन प्रवर्द्धनका अगुवा खिम बहादुर थापाले बताए ।
प्रतिक्रिया