अधिकांश ठाउँको मौसम बदली, केही प्रदेशमा पानी पर्ने

काठमाडौं । अहिले देशका धेरैजसो ठाउँमा बदली भएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । देशमा पश्चिमी वायु सक्रिय रहेकाले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
गएको २४ घण्टामा गण्डकी प्रदेशभन्दा पश्चिमतर्फ धेरैजसो ठाउँमा पानी परेको छ । यसपालिको हिउँदमा औसत भन्दा निकै कम पानी परेकोमा पछिल्लो २४ घण्टामा पश्चिमी क्षेत्रमा राम्रो वर्षा भएको हो । आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
बाँकी भूभागमा पनि छिटपुट पानी पर्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपातको सम्भावना छ । राति कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
आज र भोलि पहाडी भूभागमा चट्याङ तथा हिमाली क्षेत्रका केही ठाउँमा बाक्लो हिमपात हुन सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया