आइतबार, जेठ ५, २०८२

‘महिला नेतृत्व विकासका लागि सामूहिक ऐक्यबद्धता जरुरी’

नेपालखोज २०८० फागुन २७ गते ७:४५

जनकपुरधाम । महिलाको सर्वाङ्गीण विकासबिना सभ्य परिवार, समाज र राष्ट्रको विकास सम्भव नहुने जनाउँदै धर्मगुरू तथा सामाजिक अगुवालगायतले महिला नेतृत्व विकासका लागि सामूहिक ऐक्यबद्धता जरुरी रहेको बताएका छन् ।

दलित महिला केन्द्र नेपालको आयोजनामा शनिबार धनुषाको लालगढमा भएको ‘लैङ्गिक समानता र महिला नेतृत्वसम्बन्धी धार्मिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रका अगुवासँग भएको अन्तक्र्रियामा उनीहरूले महिलाको विकासका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

महिला सवल नभए परिवार र परिवार बलियो नभए समाज र राष्ट्र नै कमजोर हुने भन्दै उनीहरूले लैङ्गिक तथा सामाजिक असमानता हटाउन तयार हुनुपर्नेमा जोड दिए । ‘महिला शक्ति कमजोर हुनु भनेको समाजका सबै क्षेत्र कमजोर हुनु हो । त्यसैले विगतका रुढीवादी मानसिकता बदलेर महिलाको सवल नेतृत्व विकासमा जोडदिनु पर्छ’, उनीहरूले एकस्वरमा भने ।

कार्यक्रममा धार्मिक अगुवा दुर्गाप्रसाद खनालले धर्मशास्त्र र विशेष गरी नारी शक्तिको पूजा गर्ने संस्कृति रहेको हिन्दू धर्मावलम्बीले त्यसलाई व्यवहारमा उतार्न जरुरी रहेको बताए । ‘महिला र पुरुषको सहकार्यबिना समाज विकासको कल्पनासमेत गर्न सकिँदैन तर विगतमा सुझबुझको अभावमा महिलामाथि अन्याय भएको छ । त्यसैले अब हामी धर्मगुरूहरूले अगाडि सरेर वास्तविक सन्देश फैलाउन लाग्नुपर्छ’, उनले भने । उनीले विगत ४२ वर्षदेखि पण्डित्याइँ कर्म गर्र्दै आएका खनालले समाजमा जातीय, महिला तथा पुरुषबीचको असमानता हटाउन सकारात्मक पहल भएको पाइए पनि अझै धेरै सुधारका लागि लाग्नुपर्ने आवश्यकता औँल्याए ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित राधाकृष्ण मन्दिरका पण्डित बच्चुकैलाश पोखरेलले धर्मशास्त्रले महिला र पुरुषबीच विभेद नगरेका कुरा आफूहरूले समाजमा फैलाउन भूमिका बढाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी बौद्ध धर्मावलम्बी हैत्यसिंह गुञ्जनले बौद्धधर्ममा महिला र पुरुषबीच विभेदको कुरा नरहेको उल्लेख गर्दै असल पक्षलाई अनुशरण र गलत पक्षलाई अस्वीकार गर्न सबैले सचेत हुनुपर्छ भने ।

प्रतिक्रिया