आइतबार, जेठ ५, २०८२

कृषिबाटै करोडपति

नेपालखोज २०८० फागुन २७ गते १२:२९

धरान (सुनसरी) । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।

कृषिबाटै नाम र दाम कमाएका उनले भने, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ’, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन् । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोड्नु भएको छ, भव्य घर बनाएका छन् । कृषिबाट उनी आफुले मात्र कमाएका छैन, अरुलाई पनि रोजगारी दिएका छन् ।

कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोड्नु भएको छ भने बराह क्षेत्रमा करिब १५ विघा किनिसक्नु भएको छ । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाउनु भएको छ भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाउनु भएको छ । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गरे ।

त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्नुहुन्छ भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्नुहुन्छ । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन् । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गर्नु भएको छ भने त्यससँगै माछा पनि पाल्नु भएको छ ।

उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिनुभएको छ । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान–७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहनु भएको छ । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनले बताए ।

प्रतिक्रिया