कफी खेतीबाट वार्षिक १३ लाख आम्दानी : ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिए । उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन् ।
विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गरेका छन् । उनको बगानमा अहिले छ हजार कफीका बोट छन् । कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ । उनले कफीखेतीबाट वार्षिकरूपमा रु १३ लाखसम्म आम्दानी गर्दै आएका छन् । कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उनको अनुभव छ ।
‘अरविका’ नामक कफीखेती विस्तार गर्नभएका व्यवसायी कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन् । उनले याममा बिरुवा बिक्रीबाट छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । ‘मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ’, उनले भने, ‘बिरुवाबाट मात्र करिब रु छ लाख हात पार्ने गरेको छु ।’ बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उनले बताए ।
कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उनले बताए । ‘वनजङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्’, उनले भने, ‘यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न सङ्घसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ ।’
कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उनले बताए । उनले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएको छ । कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उनको भनाइ छ ।
माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गरेका छन् । उनले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाएका छन् । लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उनले बताए ।
‘चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्याउने लक्ष्य छ’, उनले भने, ‘पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ ।’ केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उनको अनुभव छ ।
माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आएका छन् । व्यावसायिकरूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाएका उनले राम्रो आम्दानी गरेको बताए ।
प्रतिक्रिया