अठ्ठाइस वर्षपछि जग्गाको स्वामित्व पाउँदा …

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ का ६८ वर्षीय नन्दसिंह साउदले जग्गा नापजाँच भएको २८ वर्ष पछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएकोमा निकै खुसी छन । वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाएपछि उनी ढुक्क भएका छन् ।
‘ऐलानी जग्गा थियो’, उनले भने, ‘कहिले विस्थापनमा पार्ने हुन भन्ने डर सधैँ मनमा कुरा खेली रहन्थ्यो, पुर्जा पाइएपछि मर्नुअघि जग्गाको मालिक हुन पाइयो, यसमै खुसी छु ।’ साउदजस्तै जग्गाधनी प्रमाण पुर्जा पाएका कालु धामीले सरकारपिच्छे बन्ने आयोगका कारण जग्गा नापजाँच भएको लामो समय सम्म पर्खनुपरेको बताए । विगतमा आयोग बन्ने तर सरकार फेरिएसँगै आयोगमा नयाँ पदाधिकारी आउँदा अन्यौलता सिर्जना हुँदै आएको उनको भनाइ छ ।
वर्षौंपछि जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी छौँ, उनले भने, दुई पिँढीदेखि चलन भोग गरेको जग्गाको स्वामित्व बल्ल मिलेको छ, यस्तो अवस्थामा खुसी न हुने कुरै छैन । साउद र धामीसँगै दुई सय ८० परिवारको ऐलानी जग्गा विसं २०५२ मै नापजाँच भएको हो । जग्गा नापजाँच भएकामध्ये ८४ जनाले मात्रै जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।
जग्गा नापजाँच भएको १६ वर्ष पछि (विसं २०६७) गठन भएको आयोगले जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउनका लागि सूचना जारी गरेपछि दुई सय ८० परिवारले राजस्वसमेत बुझाए । आयोगको म्याद सकिनै लाग्दा हतार हतारमा सेतो जग्गाधनी पुर्जा उपलब्ध गराइयो । त्यो पुर्जाले मान्यता पाएन ।
जग्गाधनी प्रमाण पुर्जा हातमा थियो”, स्थानीय समाजसेवी दलबहादुर बोहराले भन्नुभयो, “मान्यता नहुँदा बैंकमा धितो राखेर न त व्यवसाय गर्नहुन्थ्यो, न वैधानिक तरिकाले खरिद बिक्री गर्ने अवस्था थियो, न अन्य कार्यका लागि मान्य थियो, पुर्जा भएर पनि अन्यौलतामा थियौँ । अव्यवस्थित बसोबासीलगायतलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोगको जिल्लास्थित कार्यालयले विगतका आयोगले गरेका अधुरा जग्गासम्बन्धी कार्यको लगत लिने कार्य गर्यो ।
त्यसमा सेतो जग्गाधनी पुर्जा प्राप्त गरेका सबै जनाले लगतमा समावेश गर्नका लागि निवेदन दिन लगायौँ, वडा अध्यक्ष चक्रबहादुर खड्काले भने, पुराना जग्गासम्बन्धी फाइल हेर्न नगरपालिकाकै खर्चमा कर्मचारी खटायौँ । जग्गाधनी प्रमाण पुर्जाको अधुरो कार्यको लागि निवेदन दिएका व्यक्तिको विवरण तयार गरिएपछि आयोगबाट प्रमाणीकरणपश्चात् जग्गासम्बन्धी विवाद नभएका ८४ जनालाई पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन सफल भइएको उनले बताए ।
प्रतिक्रिया