शनिबार, जेठ ४, २०८२

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

नेपालखोज २०८० चैत १९ गते ९:२९

पर्वत । पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाएका छन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएका हुन् ।

उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेका छन् । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेका छन् ।

भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी भएका छन् । विसं २०४६ मा उनको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो । त्यही बेला उनी सुन्त्केरी भएर छोरा जन्माइन् । सुत्केरी भएपछि परीक्षा दिन त पाएका नै भुसालको त्यसपछिको पढाइसमेत रोकियो ।

पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भए । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएका हुन् ।

पढ्नै पर्छ भन्ने कुनै बाध्यता नभए पनि आफूले थप शिक्षित बन्नका लागि ३२ वर्षपछि पुनः विद्यालय पढ्न थालेको परीक्षार्थी भुसालले बताइन् । उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका–५ उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन् । पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ ।

भुसालका छोरा र छोरीबाट तीन नातीनातीनासमेत छन् । छोराबुहारीको कमाइबाट सुखसयलमा बसेको भए पनि हुन्थ्यो, तर सानैमा धेरै पढ्न नपाएकोमा पछुतो लागिरहेकाले पुनः पढ्न थालेकी छु, उनले भनिन्, ‘एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने योजना छ ।’

प्रतिक्रिया