च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न साना व्यवसायीहरूलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पस्मिना निर्यात सहजीकरण निर्देशिका यहाँ सार्वजनिक गरियो ।
उक्त निर्देशिकालाई युरोपेली आयोगको अन्तर्राष्ट्रिय साझेदारीका लागि महानिर्देशनालय (आइएनटिपिए) की उपमहानिर्देशक मिरियम फेरान, उद्योग, नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी तथा नेपाल पस्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरे ।
उक्त अवसरमा उपमहानिर्देशक फेरान, महामहिम राजदूत लोरेन्जो तथा सहसचिव अधिकारीले इयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको नेपाल फाइबर प्रशोधन सुविधाको संयुक्त रुपमा शुभारम्भ पनि गरे । उक्त सुविधाले च्याङ्ग्रा किसानबाट सङ्कलन गरिएको फाइबर प्रशोधन गरी पश्मिना उत्पादकहरूलाई आपूर्ति गर्दै आएको छ ।
पस्मिना मूल्य शृङ्खलालाई सुदृढ गर्न युरोपेली सङ्घको बृहत् सहयोगको एक हिस्साका रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा गाइड तयार गरेको हो । जापान, युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र बेलायतजस्ता प्रमुख अन्तर्राष्ट्रिय बजारहरूका लागि विशेषरूपमा तयार पारिएको यो गाइडले नेपालको पस्मिना निर्यात प्रयासलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ ।
गाइडले फर्म दर्ता, इजाजतपत्र, निर्देशन, भन्सार, ढुवानी, र रसद प्रक्रियाहरू समावेश गर्दै चरण–चरणगत प्रक्रियाहरू रूपरेखा दिन्छ । यसबाहेक यसले गन्तव्य देशहरूद्वारा निर्धारण गरिएका आयात आवश्यकताहरूबारे पर्याप्त जानकारी गराउनाका साथै भन्सार दरहरू, गुणस्तर मापदण्डहरू, ढुवानी लागत, समय सीमालगायत व्यापारसँग सम्बन्धित अन्य महत्वपूर्ण जानकारीहरू दिनेछ ।
नेपालका साना र मझौला उद्यमहरू (एसएमई) मा अन्तर्राष्ट्रिय बजार र व्यापारसम्बन्धी जानकारीको कमी भइरहेको बेला यस गाइडले उनीहरूलाई निर्यातसम्बन्धी औपचारिकता र प्रक्रियाहरूका बारेमा जानकारी प्रदान गर्न महत्वपूर्ण उपकरणका रूपमा काम गर्दछ । निर्यातसम्बन्धी पर्याप्त जानकारीले नेपाली व्यवसायीहरूलाई विश्वव्यापी मञ्चमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेछ ।
नेपालको हिमालयन च्याङ्ग्रा पस्मिनाले आफ्नो अद्वितीय गुणस्तर र सांस्कृतिक महत्वका कारण अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान ओगटेको छ । ‘नेपाल व्यापार एकीकरण रणनीति २०२३’ ले च्याङ्ग्रा पस्मिनालाई निर्यातको उच्च प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया