गरिब देशहरूको ऋण १८ वर्षयताकै उच्च

विश्व बैंकको पछिल्लो प्रतिवेदनले विश्वका सबैभन्दा गरिबमध्ये ४० प्रतिशत जनसंख्या रहेको संसारका २६ वटा देश सन् २००६ यता कुनै पनि समयको तुलनामा बढी ऋणमा परेको देखाएको छ भने ती देश प्राकृतिक प्रकोप र अन्य प्रकोपबाट बढी जोखिममा रहेको समेत बताएको छ ।
प्रतिवेदन अनुसार यी अर्थतन्त्रहरू कोभिड-१९ को महामारी अघिको तुलनामा आज बढि गरीब छन्, जबकि बाँकी विश्व कोभिडको असरबाट बाहिर आइसकेका छन् भने कतिपयले ठूलो मात्राको आर्थिक बृद्धि हासिल गरिरहेका छन ।
प्रतिवेदन अनुसार गरिब देशहरू प्राकृतिक प्रकोप र अन्य समस्याको चपेटामा पर्दै गएका छन् ।
विश्व बैंकले ती २६ गरिब अर्थतन्त्रमा वार्षिक प्रतिव्यक्ति आय १,१४५ डलर भन्दा कम रहेको बताएको छ । उनिहरु धेरै हदसम्म अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को सहायता र लगभग शून्य ब्याज दरको ऋणमा निर्भर छन । तिनीहरूको औसत ऋण-जीडीपी अनुपात ७२ प्रतिशत छ , जुन गएको १८ वर्षकै उच्च हो । यो समूहका देसको आधा ऋण समस्यामा वा उच्च जोखिममा छन् ।
यो समुहका अधिकांश गरिब देशहरू सब-सहारा अफ्रिकामा छन्, इथियोपियादेखि चाड र कंगोसम्म, तर यहि सूचीमा अफगानिस्तान र यमन पनि समावेश छन्।
प्रतिवेदनले २६ अति गरिब देशमध्ये दुई तिहाइ या त सशस्त्र द्वन्द्वको सिकार भएको वा संस्थागत र सामाजिक कमजोरीका कारणले वैदेशिक लगानीमा बाधा भएको उल्लेख गरेको छ । जसका कारण ती देशबाट सबै प्रकारका निकासी ठप्प हुन्छन् र उनिहरुले बारम्बार आर्थिक मन्दीको चक्र झेल्नु पर्ने हुन्छ ।
प्रतिक्रिया