शुक्रबार, वैशाख २६, २०८२

देहरादूनमा नेपाल-भारत व्यापार मेला सुरू

नेपालखोज २०८१ चैत ८ गते ५:२५

काठमाडौं । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवर्द्धन तथा आदानप्रदान गर्ने उद्देश्यले आजदेखि यहाँ इन्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सव, २०२५ सुरू भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र भारतको उत्तराखण्ड प्रदेश सरकारको संयुक्त आयोजनामा सुरू महोत्सवको आज साँझ उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गरे । सात दिनसम्म चल्ने महोत्सवमा नेपाली व्यवसायीका ५० र भारतीय व्यवसायीका एक सय ५० प्रदर्शनी कक्ष छन् ।

उत्तराखण्डका मुख्यमन्त्री धामीले दुई देशका व्यवसायी सहभागी यस महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध अझ प्रगाढ भएको बताए ।

उहाँले दुई देशबीचको सीमामा रहेको वनबासा नजिकको पुलबाट आवातजावत गर्ने समय दैनिक चार घण्टाबाट बढाएर सात घण्टा बनाइएको र आगामी दिनमा समयसीमा अझै बढाउने प्रतिबद्धता व्यक्त गरे । मेला दुवै देशका व्यापारी, कालीगढको विकासका लागि सहयोगी हुनेमा विश्वस व्यक्त गर्दै यो मञ्च आर्थिक सम्बन्ध बलियो बनाउन माध्यम हुने बताए ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले महोत्सव दुई देशबीचको सम्बन्ध आर्थिक रूपमा बलियो बनाउने आधार भएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले महोत्सवले दुवै देशबीच व्यापार अभिवृद्धि गर्नुका साथै पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताए । उनले कञ्चनपुर जिल्लासँग जोडिएको भारतको वनबसास्थित नेपाल–भारतबीचमा रहेको शारदा ब्यारेजको पुल दैनिक नौ घण्टा खुला गर्न उत्तराखण्डका मुख्यमन्त्रीसमक्ष आग्रह गरे ।

महोत्सवमा, काठमाडौँ, चितवन, पाल्पादेखि सुदूरपश्चिम प्रदेशका व्यवसायी तथा उद्यमी सहभागी मेला उत्पादनको बजारीकरण तथा प्रवर्द्धनको उपयुक्त थलो भएको अध्यक्ष जोशी भनाइ छ । उनले महोत्सव आयोजनाका लागि उत्तराखण्ड सरकारको सहयोग र सद्भावका लागि धन्यवाद दिए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वर बोहराले यसअघि सन् २०१७ र २०१८ महोसत्व आयोजना गरिएको र यसले दुई देशबीच व्यापार तथा व्यवसाय सहज भएको बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुगेको उहाँको भनाइ थियो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सदस्य तेज चन्दले दुई देशबीचको मैत्रीपूर्ण महोत्सवले दुई देशबीचको सम्बन्ध विस्तार, व्यापार तथा पर्यटन प्रवर्द्धनमा एकापसमा हातेमाले गरेर जानुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।

महोत्सवमा सहभागी व्यवसायी माधव जोशीले महोत्सवका कारण नेपाली उत्पादन प्रवर्द्धन, बजारीकरणमा सहयोग पुगेको बताए ।

हेल्प क्रसका संस्थापक तथा वीर गोरखाली कल्याण समितिका महासचिव विशाल थापाले यस प्रकारका महोत्सव दुई देशबीचको सम्बन्ध विस्तार, व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने बताए । उनले दुवै देशबीच धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले ‘केदारनाथ टु पशुपतिनाथ’ नाममा पर्यटन करिडोर आवश्यक भएको बताए ।

प्रतिक्रिया