शुक्रबार, वैशाख २६, २०८२

कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती

नेपालखोज २०८१ चैत १० गते १३:३६

मुस्ताङ । कोरला नाका जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको कोवाङ-जोमसोम सडकखण्डको काम सुरु भएको सात वर्ष हुँदा पनि पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको (बेनी–जोमसोम) चौथो खण्ड सम्बन्धित निर्माण कम्पनीले ढिलासुस्ती गर्दा कालोपत्र अलपत्र बनेको हो ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईंका अनुसार निर्माण कम्पनीले काममा ढिला सुस्ती गरेपछि पाँच महिनाअघि नै कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको छ । पछिल्लो म्याद असोज महिनामा सकिएकाले निर्माण कम्पनीलाई ठेक्का लागतको दैनिक ९०.०५० प्रतिशत हर्जाना लाग्ने गरी जरिवाना रकम तोकेर विभागीय कारबाही अघि बढाइएको आयोजनाका सूचना अधिकारी चापागाइको भनाइ छ । तर प्रक्रिया अघि बढाएपछि भने निर्माण कम्पनी काममा फर्किएको उनले बताए ।

कोवाङ-जोमसोम सडक कालोपत्र तथा संरचना निर्माणका लागि पप्पु-गौरी पार्वती-कोशी एण्ड न्यौपाने जेभीले ७० करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । भौगोलिक विकटता, कोरोना महामारीलगायतका कारण देखाउँदै निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको थियो । कोवाङ-जोमसोम सडकखण्डमा १७ किमी सडकमा कालोपत्रका लागि यसअघि ६ पटकसम्म म्याद थप भइसकेको छ ।

सुरुआती चरणमा कालोपत्र गर्दै आएको कोशी एन्ड न्यौपाने जेभीले सडक निर्माण गर्न नसकेपछि जेभीको मुख्य प्रतिनिधित्व गर्ने गौरी पार्वती (कोवाङ–जोमसोम) काममा फर्किएको थियो ।

सार्वजनिक खरिद नियमावलीको मापदण्ड उल्लेख गरिएअनुसार कानुनी प्रावधानअनुसार तोकिएको दैनिक जरिवाना प्रतिशतका हिसाबले रु तीन लाख ११ हजार हुन आउँछ । यो जरिवाना तोकिएअनुसार हालसम्म निर्माण कम्पनीले लाखौँ रकम आयोजनालाई बुझाउनुपर्ने देखिन्छ ।

बेनी–जोमसोम चार खण्डमध्ये (कोवाङ–जोमसोम) कालोपत्र सडकको भौतिक प्रगित ९० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।

सडकअन्तर्गत (कोवाङ–जोमसोम) १७ किमी सडकमध्ये १२ किमी सडकको अस्फाल्ट कालोपत्र सम्पन्न भइसकेको छ । जसअन्तर्गत मार्फा-जोमसोम चार किलोमिटर र थासाङ-१ टुकुचेमा करिब एक किलोमिटर दूरीमा कालोपत्र सडक स्तरोन्नति बाँकी छ ।

कोवाङ-जोमसोम सडक चालु आर्थिक वर्षभित्रै सकिने गरी निर्माण कम्पनीको ध्यानाकर्षण गराइएको छ । मुस्ताङको घाँसादेखि कागबेनी र मुक्तिनाथ सडकसम्म कालोपत्र सकिँदा मुस्ताङको मार्फा-जोमसोम सडक कालोपत्र सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया