मंगलबार, वैशाख १८, २०८१

ब्रेक्जिट वार्ताबाट अलग हुने बेलायतको चेतावनी

नेपालखोज २०७७ भदौ २३ गते ७:२१

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली युनियन (इयू) सँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन् ।

जोन्सनले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा युनियनसँग कुनै सम्झौता नभए पनि त्यो बेलायतका लागि फलदायी हुने बताएका छन् । हाल बेलायती अधिकारीहरु र युरोपेली युनियनका वार्ताकारहरुबीच ब्रेक्जिटपछि बेलायत र युरोपेली युनियन बीचको व्यापार तथा अन्य सम्बन्धका विषयमा वार्ता जारी छ ।

तर यो वार्तामा ठोस प्रगति हुन सकेको छैन । दुबै पक्ष आ–आफ्ना अडानमा रहेकाले पनि वार्तामा प्रगति हुन नसकेको हो । प्रधानमन्त्री जोन्सनले युरोपेली वार्ताकारहरुले आफ्नो अडानमाथि पुनर्विचार नगर्ने हो भने बेलायतले युरोपेली युनियनसँग वार्ता गर्नुको कुनै अर्थ नहुने बताएका छन् ।

तर युनियनले बेलायत वार्तामा गम्भीर नभएको आरोप लगाएको छ । बेलायत गत जनवरी ३१ मा युनियनबाट बाहिरिएको थियो । युनियनमा हाल २७ मुलुक सदस्य छन् ।

प्रतिक्रिया