दुर्घटना न्यूनीकरण गर्न ‘ट्याक्टर बहस’

बैतडी । सवारी दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेशभर ‘ट्याक्टर बहस’ सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेशका नौ वटै जिल्लामा ‘ट्याक्टर बहस’ सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता बलदेव बडूले जानकारी दिए ।
यो कार्यक्रम जनचेतनामूलक रहेको उनको भनाइ छ । उनले भने, ‘यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने विश्वास छ ।’
खास गरेर सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा जन्ती र मलामी बोक्दा ट्याक्टर दुर्घटना हुने गर्दछन् । त्यसैले ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको हो । पछिल्लो समय पहाडी जिल्लामा सडक पहुँच पुगेका क्षेत्रमा जन्ती र मलामी ट्याक्टरमा बोक्दा दुर्घटना हुने गरेको छ ।
ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर पर्ने गरेकाले दुर्घटना न्यूनीकरण गर्न सो बहस सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।
यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिने गरिएको छ ।
अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ । रासस
प्रतिक्रिया