सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस, परिवारको भविष्य खोज्नेहरु…

वीरगञ्ज(पर्सा) । वीरगञ्ज महानगर–१५ भिष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगञ्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तब्यमा पुर्याउनको लागि भ्याइनभ्याई हुने गथ्र्यो । त्यही कर्मबाट आफ्नो पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आइरहेका थिए ।
तर, विगत पाँच वर्षयता भने उहाँ जस्तै वीरगञ्जमा भाडाको रिक्सा चलाउनेको अवस्था भने निकै दयनीय बन्दै आइरहेको छ । अहिले ४७ वर्षे महतोलाई वीरगञ्ज आसपासमा रिक्सामा सवार गर्ने यात्रु भेट्टाउन पनि मुस्किल पर्ने गरेको गुनासो सुनाए । २० साल अघिसम्म त रिक्सामा सवार गर्ने यात्रुलाई गन्तब्यमा पुर्याउन भ्याइनभ्याई हुने गथ्र्यो । त्यतिबेला पनि आम्दानी पनि राम्रै हुने गथ्र्यो, उनले भने, अचेल त चोक–चोकमा छ्याप्तछयाप्ती भेट्टिने अटोरिक्साका कारण हामीजस्ता भाडाका रिक्सा चालकको काम खोसिएको छ । अचेल त दिनको रु ७०० कमाउन पनि मुस्किल पर्ने अवस्था आइसकेको छ ।
तीन छोरी र दुई छोराका पिता महतोलाई रिक्सा चलाएर नै आफ्नो परिवारको गुजारा चलाउन हम्मेहम्मे परेको गुनासो पोखे । अहिले महङ्गीले आकाशै छुम्ला जस्तो गरिसक्यो । बिहान ०३ बजेदेखि बेलुका ८ बजेसम्म घोटिदा पनि मुस्किले ७०० कमाउन धौ धौ भइसकेको छ, उनले भने, त्यो सात सयमा पनि २०० त रिक्साको साहुलाई भाडा तिर्नुपर्ने अर्को बाध्यता छ । यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैनन् । अधिकांश रिक्सा चालकले दैनिक औसतमा १५० देखि रु २०० भाडा तिरेर साहूको रिक्सा चलाएर आफ्नो गुजारा चलाउँदै आइरहेका छन् ।
रिक्साको भन्दा अटो रिक्साको भाडा धेरै सस्तो र छिटो गन्तब्यमा पुगिने लोभले सर्वसाधारण रिक्सामा चढ्न खासै रुची देखाउँदैनन्, रिक्सा चालक महतोले भने मेसिनबाट चल्ने अटोरिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र ?
वीरगञ्जको घण्टा घर चोकदेखि बसपार्कसम्म अटोरिक्सामा १० मात्र नै यात्रा गर्न सकिन्छ भने रिक्सामा भने कम्तिमा पनि ३० पर्ने भएकाले पनि भएकाले पनि सर्वसाधारणको रोजाईमा भने अचेल रिक्सा खासै पर्दैन । उनले अटोरिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको दुखेसो पोखे । ५० हजार पर्ने रिक्सा त आफैं किन्न सकेको छैनौ भने कहाँ चार लाख पर्ने अटोरिक्सा किन्ने कुरो त सपना जस्तै हो । चालक महतोले भने ।
प्राचीन तथा व्यापारिक सहर वीरगञ्ज बजारमा पहिला जस्तो रिक्सा गुड्न पनि कमी आएको छ । अहिले वीरगञ्जमा औषतमा २०० भन्दा धेरै रिक्सा चालक रहेका छन् । वीरगञ्जकै घण्टाघर आसपासमा रिक्सा चलाउँदै आइरहेका ४६ वर्षे बसन्त गिरी पनि रिक्सा चलाएर गुजारा चलाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताए । अचेल रिक्सा सवारी गरेर पेट पाल्न पनि गाह्रो हुने अवस्था भइसकेको छ, उनले भने, रिक्सा चलाउने बाहेक अन्य कुनै सीप छैन । तर यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि ।
प्रतिक्रिया