सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष

कसरा(चितवन) । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तुत गरेको छ । उसो त नेपालले वन संरक्षण गर्न समुदायलाई नै हस्तान्तरण गर्ने नीति अर्थात् सामुदायिक वनको अवधारणालाई विश्वका कयौँ देशले अनुसरण गरेका छन् ।
प्रकृति र वन्यजन्तु संरक्षणमा वन तथा वातारण मन्त्रालय, नेपाली सेना र स्थानीयवासीको सामूहिक सहकार्य, समन्वय र प्रयासले गर्दा विश्वमै लोपोन्मुखको सूचीमा रहेको पाटेबाघ, एक सिङ्गे गैँडा, बाह्रसिङगाजस्ता जङ्गली जनावरको सङ्ख्या पछिल्लो एक दशकभित्रै दोब्बर भएका छन् ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भने,संसारमै लोपोन्मुखको सूचीमा रहेका पाटेबाघ, एक सिङ्गे गैँडा, बाह्रसिङगाजस्ता जनावरको सङ्ख्या पछिल्लो एक दशकभित्रै दोब्बर पुर्याउन सफल भएको छौँ । यो हाम्रो लागि ऐतिहासिक उपलब्धि हो । साझेदारी र सहकार्य मार्फत् प्रकृति र वन्यजन्तु संरक्षण गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिँदो रहेछ भन्ने यो गतिलो सिकाइ हो ।
उनका अनुसार सेनाले ‘वन र वन्यजन्तु सबैको लागि’ भन्ने नाराकासाथ प्रकृति संरक्षणमा वन तथा वातावरण मन्त्रालय र स्थानीयवासीसंग सहकार्य गरेको ५० वर्ष भएको छ । विसं २०३२ मा तत्कालीन सरकारले सेनालाई प्रकृति संरक्षण गर्न सुरक्षाको जिम्मेवारी दिएको थियो ।
यसअवधिमा सेना, राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती व्यवस्थापन समितिबीचको सहकार्य प्रकृति र वन्यजन्तु संरक्षणका क्षेत्रमा नमूना सावित भएको छ । उनले भने,निजामती प्रशासन र सैनिकबीच राष्ट्रिय निकुञ्जको बजेट, योजना, कार्यक्रम, रणनीतिका लागि भइरहेको सहयोग, समन्वय र सहकार्यबाट नै राष्ट्रिय निकुञ्जमा लक्ष्य प्राप्तिमा सफलता मिलेको छ । अन्य क्षेत्रमा यो विरलैछ ।
पहिलो राष्ट्रिय निकुञ्जकारुपमा विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । यद्यपि विसं २०१८ देखि सेनाबाट गैँडा जस्ती सुरु गरिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ र मन्त्रिपरिषदबाट विसं २०६७ मा पारित स्थायी कार्य सञ्चालन विधिमा राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको सुरक्षाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउने छ,भन्ने उल्लेख भएअनुसार निकुञ्जको सुरक्षामा सेनालाई तैनाथी गरिएको हो ।
हाल त्यस्ता २० संरक्षित क्षेत्र ३३ जिल्लामा फैलिएको र त्यसको सुरक्षाका लागि सेनाका आठ गण, सात अनाश्रित गुल्म र एक प्रकृति शिक्षालय गरी करिब आठ हजार सुरक्षा फौज तैनाथ रहेको जनाइएको छ ।
त्यसक्रममा प्रकृति संरक्षण कार्यमा तैनाथ भएपश्चात् सेनाका ११६ जना सकल दर्जाले वीरगति प्राप्त गरेका नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयले जनाएको छ । मानव र वन्यजन्तु द्वन्दका कारण चालु आर्थिक वर्षमा मात्र विभिन्न जङ्गली जनावरको आक्रमणमा परी २१ जनाको मृत्यु हुनका साथै ५४ जना घाइते भएकामा नेपाली सेनाका सकल दर्जाका सङ्ख्या आठ छ । त्यस्ता संरक्षित क्षेत्रले मुलुकको कूल भू–भागको २३।३९ अर्थात ३४ हजार ३२४ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ ।
वन तथा वातावरण मन्त्रालयक अनुसार चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लामटाङ, शिवपरी– नागार्जुन, सगरमाथा, बाँके, मकालु–बरुण, शुक्लाफाँटा र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज छन् भने, कोशी टप्पु वन्यजन्तु र ढोरपाटन शिकार आरक्षण क्षेत्रका रुपमा छ । त्यस्तै संरक्षण क्षेत्रका रुपमा अन्नपूर्ण, कञ्चनजङ्घा, मनास्लु, कृष्णसार, अपिनप्पा, गौरीशङ्कर आरक्षण क्षेत्र हुन्,भने चितवन, बर्दिया,शे–फोक्सुण्डो, खप्तड, रारा, लामटाङ, शिवपुरी नार्गाजुन, बाँके, मकालुबरुण, शुक्लाफाँटा, कोशी टप्पु, सगरमाथा र पर्सा गरी १३ मध्यवर्ती क्षेत्रका रुपमा छन् ।
सेना संरक्षित क्षेत्रभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा, सरकारी कार्यालय तथा अन्य भौतिकपूर्वाधारको संरक्षण र सुरक्षामा सेना अहोरात्र खटिएको छ । सेनाले निकुञ्जको सुरक्षा र चोरी शिकारी नियन्त्रण गर्न छोटो, मध्यम र लामो दुरीका गस्ती, एम्बुस, सर्च एण्ड स्वीपसहित चेतनामूलक कार्य गर्दैआएको छ ।
त्यस क्रममा १८ हजार ६३० जनालाई जनचेतनामूलक तालिम प्रदान गरिएको सेनाले जानकारी दिएको छ । निकुञ्ज तथा आरक्षण क्षेत्रको धरातलीय अवस्था र स्थान विशेषकाआधारमा सवरी साधन, हात्ती, डुङ्गा, साइकल, मोटरसाइकल र अरु साधनबाट सेनाले गस्ती गर्दैआएको छ । चालु आर्थिक वर्षमा सेनाले गस्तीका क्रममा ११ थान हतियार, एक हजार चार सय ६७ पासो, एक हजार ५६५ घरेलु औँजार, २५२ सवारी साधन र १० वटा आखेटोपहार बरामदको छ ।
निकुञ्ज तथा आरण क्षेत्रको प्रभावकारी सुरक्षाका लागि विभिन्न समयमा ‘हण्ट’ र ‘महाहण्ट’जस्ता अभियान सञ्चालन गर्दैआएको छ । सोही क्रममा ठिक समयमा असरदार गस्ती, प्रभावकारी दृष्टि, सिसी क्यामेरा, स्पाई क्यामेरा, ड्रोन र भेइकल ट्र्याकिङसमेत सञ्चालन गरिएको छ । नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको पहल र प्रयासको परिणामस्वरुप केही दशकभित्रै लोपोन्मुख वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटो बाघ सन् २०२२ मा आइपुग्दा ३५५ भएको छ । त्यस्तै सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा हालको सङ्ख्या ७५२ पुगेको छ । नेपालमा हात्तीको सङ्ख्या १२० भन्दामाथि छ भने हिउँ चितुवा ३९७ र अर्ना ४४१ रहेको अनुमान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज : शून्य चोरी सिकारी
यसैबीच, अहिले चितवन राष्ट्रिय निकुञ्ज ५२९ दिनदेखि शून्य चोरी सिकारीको अभ्यासमा रहेको त्यहाँ तैनाथ नयाँ गोरखनाथ गणका गणपति शिवराम बस्नेतले जानकारी दिए । तीन प्रदेशका चार जिल्ला फैलिएको चितवन ९५२ वर्ग किलोमिटरमा फैलिएको छ, भने त्यसको बफर जोन ७२९.३७ वर्गकिलोमिटर छ ।
त्यसक्षेत्रमा नेपाल भारत सीमा स्तम्भ सात वटा जंगेसहित २७ वटा रहेको छ । चितवनमा हालसम्म १८ वटा यूनिट तैनाथ रहेको छ । त्यसका लागि अहिले आठ सय जनशक्तिले ६० वटा आउट पोष्टमार्फत कार्य जिम्मेवारी सम्हाली रहेको छ । त्यहाँ तैनाथ रहेका सेनाले गत वैशाख १० देखि यो वर्षको वैशाख १५ गतेसम्म ८४ हजार ६०६ पटक सञ्चालन गरेको गस्तीमा १० लाख ९६ हजार ९५२ किमी दुरीको यात्रा भएको थियो । त्यसमा तीन लाख ५२ हजार ८० जना व्यक्ति गस्तीमा सहभागी भएको नयाँ गोरखनाथगण कसरा ब्यारेकले जानकारी दिएको छ । हाल दैनिक २१५ भन्दा बढी गस्ती हुने गरेको छ ।
विश्व सम्पादा सूचीमा सूचीकृत घाँसे मैदानसहित दुर्लभ वन्यजन्तुको उल्लेखनीय विविधता रहेको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्ती र गैँडा तथा गोही प्रजनन केन्द्रको अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटक बाक्लोरुपमा आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए । बाघको सुरक्षा, बासस्थान व्यवस्थापन र आहरा प्रजातिको उपलब्धताका आधारमा चितवन राष्ट्रिय निकुञ्ज सन् २०१५ मा बाघ पाइने देशमध्ये पहिलो राष्ट्रिय निकुञ्जकारुपमा पुरस्कृत भएको उनले जानकारी दिए । जैविक विविधताका हिसाबले चिनवन राष्ट्रिय निकुञ्जमा ४० भन्दा बढी प्राकृतिक ताल, रिउ, राप्ती र नारायणी नदी प्रणाली र वन तथा घाँसे मैदानका विभिन्न प्रकार छन् ।
कसरा, माडी, सौरहा र अमलटारीबीचमा रहेको यस निकुञ्ज क्षेत्रमा १२८ वटा बाघ, ४५ हात्ती, ३८८ चौरी गाई, ६९४ घडियाल गोही, स्तनधारी ७०, चरा ५४६, सरीरसृप र उभयचर ४९ माछा १२० प्रजातीका पाइन्ने पनि जानकारी दिइयो । यसक्षेत्रका सुरक्षाका लागि नेपाली सेनाका १७, निकुञ्ज र सेनाका संयुक्त ३४ र निकुञ्जका कर्मचारी मात्र रहने नौ समेत गरी ६० वटा सुरक्षा पोष्ट रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले बासस्थान संरक्षण र व्यवस्थापन, प्रजाति संरक्षण, चोरी शिकारी नियन्त्रण, अध्ययन, अनुसन्धान र अनुगमन, मध्यवर्ती क्षेत्र व्यवस्थापन, संरक्षण शिक्षाप्रदान, पर्यापर्यटन व्यवस्थापन, सांस्कृतिक र धार्मिकक्षेत्रको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ ।
चालु आर्थिक वर्षको चैत महिनासम्ममा निकुञ्जको अवलोकन र भ्रमणका लागि ९२ हजार ८९० नेपाली, १६ हजार ७९८ सार्कमूलुक तथा ७२ हजार ५३९ जना विदेशी यहाँ आएको पनि निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जले यस अवधिमा करिब २३ करोड, ६४ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।
नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका महासेनानी अजय गुरुङ र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङगानाले पछिल्ला दिनमा मुख्य चुनौती भनेको निकुञ्जवरपरको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबीच द्वन्दको न्यूनीकरण तथा प्रकृति र वातावरण संरक्षणको प्रभावकारी संरक्षणलाई प्राथमिकता दिएर काम गरिहेको बताए ।
महासेनानी गुरुङले पर्यटन विकास, स्थानीयको रोजीरोटी र जीविकोपार्जनमा पर्नेसक्ने असरको विषय पनि जोडिएकाले त्यस पाटोमा पनि ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । प्रकृति संरक्षणजस्तो पवित्र कार्यले नेपालमा मात्र नभइ विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान हुनकासाथै नेपालमा दीगो पर्यो पर्यटनमासमेत टेवा पुग्ने नेपाली सेनाको विश्वास छ ।
हिमाल सफाइ अभियान
यसैबीच, पछिल्ला वर्षमा सेनाले प्रत्येक वर्ष हाम्रा अनुपम हिमालको सौन्दर्यलाई कायम राख्न सफा हिमाल अभियान सञ्चालन गर्दैआएको छ । नेपालमा हिमालको दृश्यअवलोकन तथा आरोहणका लागि वार्षिक औषत ५४ हजार पर्यटक तथा ८० हजारको सङ्ख्यामा सहयोगी त्यसक्षेत्रको भ्रमण गर्दैआएको तथ्याङ्क छ ।
हिमाली क्षेत्र जलवायु परिवर्तनको असरका हिसाबले अत्यन्त संवेदनशील र विश्व तामक्रम वृद्धिको पहिलो प्रभावित क्षेत्र हो । हिमाली क्षेत्रमा हाल १५ हजारदेखि ३० हजार फोहर तथा ३०० देखि ४०० को सङ्ख्यामा मृत मानव शरीर भएको अनुमान गरिएको छ । नेपालको हिमाली क्षेत्र करिब दुई अर्ब मानिसको पानीको स्रोत मानिदै आएको छ ।
सेनाको अगुवाइमा सन् २०१९ बाट सगरमाथा र ल्होत्सेको सफाइ अभियान सुरु गरिएकोमा हालसम्म पुमरी, मकालु, धौलागिरि, आमदब्लम, कञ्चनजङ्गा, अन्नपूर्ण, मनास्लु, बरुन्चेहुँदै हालसम्म नुप्सेसम्म पुगको छ । त्यो अभियान हिमाल र हिमाली क्षेत्रको सफाइ, दीगो पर्यापर्यटनमा टेवा तथा जिम्मेवार पर्वतारोहणको विश्वव्यापी सन्देशका लागि भएको सेनाले जनाएको छ ।
हालसम्म हिमाल सफाइ अभियानमा सेनाका ११५ र शेर्पा १८० जना परिचालन भई १२ वटा शव र ४ मानव अस्थिपञ्जरसहित कुइने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलो फोहर सङ्कलन भइसकेको छ ।
प्रतिक्रिया