अन्तरराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु

चितवन । यहाँको भरतपुर महानगरपालिकामा आजदेखि दोस्रो अन्तरराष्ट्रिय मानसिक सम्मेलन सुरु भएको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले सो सम्मेलनको उद्घाटन गर्दै भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्पका साथ सबै जुट्न आग्रह गरिन् । उनले अरु विशेषज्ञ सेवा लिने थलोका रूपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको महसुस गरेको बताइन् । उनले भनिन्, मेडिकल सिटीमा अर्को एउटा आयाम थप्न हामी इच्छुक र तत्पर छौँ ।
सम्मेलनको निष्कर्षलाई नीति निर्माणको तहमा पुर्याउन र कार्यान्वयन गर्न सबैले योगदान दिन जरुरी रहेको उनको भनाइ छ ।
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा सुरु भएको सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले सीमित स्रोत र साधनको भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताए । मानसिक स्वास्थ्य उपचारको समुदायस्तरमा अझै पहुँच पुग्न नसकेको उनको भनाइ छ । उनले भने यो सम्मेलनले समाजको तल्लो तहसम्म सन्देश प्रवाह गर्ने छ, र केही हदसम्म भएपनि मानसिक समस्या न्यूनीकरण गर्न भूमिका निर्वाह गर्नेछ ।
दाङ्को घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले देशको विकास सूचक त्यहाँका जनताको स्वास्थ्य भएको उल्लेख गर्दै स्वस्थ नागरिकबाट मात्रै समृद्ध देश बनाउन सकिने बताए । कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताए ।
उनले भने आफूले जानेको सीप र ज्ञान समाजमा दिनका लागि कार्यक्रम फलदायी हुने छ । कार्यक्रम संयोजक श्रीधर पौडेलले विकसित देशमा पनि मानसिक रोग विकराल रूपमा रहेकाले विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हट्दै गएको बताए] ।
प्रतिक्रिया