शनिबार, वैशाख २०, २०८२

पहिलो हुलाक टिकट

नेपालखोज २०८२ वैशाख १९ गते १८:०८

१८५ वर्ष अगाडी आज कै दिन मई १, १८४० मा विश्वको पहिलो हुलाक टिकटको शुरुवात भएको दिन पनि हो । हुलाकको शुरुवात यो भन्दा पहिले नै भएको भए पनि चिट्ठी पठाउन निकै महंगो पर्दथ्यो । चिठीको आकार र तौल र पुर्याउनुपर्ने ठाँउको आधारमा मुल्य लिइन्थ्यो । अहिलेको कुरियर सेवाले झै निजी सेवा सञ्चालित थियो ।

शिक्षाविद एवं समाज सुधारक रोलाण्ड हिलले सन १८३९ मा हुलाकको लागी आबश्यक हुलाक टिकट तथा अन्य वस्तुको चित्रकला प्रदर्शनी गराए । यसै मध्य विलियम वायन नामक एक विद्यार्थीले बनाएको युवा अवस्थाको रानी भिक्टोरियाको तस्विर राखेर डिजाइन गरेको हुलाक टिकट सबैभन्दा उपयुक्त छानियो । यहि डिजाइनलाई परिष्कृत गर्नको लागी चित्रकार हेनरी कर्वोल्डको सहयोग लिए । यसरी डिजाइन गरिएको अन्तिम रुपलाई जर्ज रशेल, फ्रेडरिक तथा चार्ल्स हिथले छाप्नको लागी तैयार बनाए ।

यसरी तैयार भएको हुलाक टिकटमा पछाडी खाममा टाँस्नको लागी गम पनि राखिएको थियो । यो टिकटको मुल्य एक पेनि राखिएको थियो । यो टिकटको पहिलो बिक्रीको थालनी मे १ तारिख १८४० बाट गरिएको थियो । एक पेनीको हुलाक टिकटले बेलायत भरि साधारण पत्र पठाउन सकिन्थ्यो । तसर्थ यो टिकट पहिलो वर्ष नै सात करोड भन्दा बढी बिक्यो । यसरी यस टिकटलाई ब्लाक पेनी भन्न थालियो । जुन करिव ४० वर्ष सम्म बिक्री भइरह्यो । तर यसको हल्का रङ भने सन १८४१ तथा १८४८ मा परिवर्तन भयो । १८५८ मा केही सुधार भयो ।

चिट्ठीको खाममा टिकट दाहिने तिर माथिल्लो भागमा नै टाँस्ने चलनको शुरुवात पनि भयो । यसको खास कारण अधिकांश बेलायतीहरुले दाहिने हात चलाउनु र दाहिने हातको माथिल्लो भागमा टिकट टाँस्दा टिकटमा छाप लगाउन सजिलो हुनु नै थियो । तर पछि भने सबै देशमा हुलाक टिकट दाहिने भागको माथिल्लो हिस्सामा नै टाँस्ने चलन नै भयो ।

प्रतिक्रिया