आइतबार, वैशाख २१, २०८२

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगालागेपछि किसान उत्साहित

नेपालखोज २०८२ वैशाख २१ गते ८:३७

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर उहाँले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी गरेका छन् । पाँच कट्ठा जग्गामा लगाइएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।

उन्नत जातको भन्दा गुणस्तरीय वर्णशङ्कर जातका मकैको खेती गर्दा २५ देखि ३० प्रतिशतले बढी उत्पादन हुने गरेको छ । फागुनको पहिलो हप्ता रोपेको मकै जेठमा उत्पादन लिन सकिने किसान चौधरीले बताए ।

हरियो मकै खेतबारीबाट नै रु १० देखि १५ सम्ममा बिक्री हुने गरेको छ । हरियो बिक्री नभएको मकै पाकेपछि बिक्री गरिँदै आएको उनको भनाइ छ ।

मकैको डाँठ भने मेसिनमा काटेर घरमा पालेका बाख्रा, बङ्गुर, भैँसीलगायतका लागि भुसासँगै मिसाएर खुवाउन प्रयोगमा ल्याइने गरिएको शङ्कर चौधरीले बताए । बैवाहाका १५ बढी किसानले चार कट्ठादेखि सात कट्ठा जग्गामा वसन्ते मकैखेती गरेका छन् । मकैको उत्पादन लिएपछि यहाँका किसानले धान रोप्ने भएकाले छोटो अवधिमै पाक्ने मकैखेतीलाई बढावा दिँदै आएका छन् ।

कुनै किसानले १२८०, कुनैले अरुण–२, अरुण–६ जातका मकैखेती गरेका छन् । वसन्ते मकैखेती गरेका अधिकांश किसानले बाख्रापालन गरेका छन् ।

किसानको घरघरमा १० देखि २२ वटासम्म बाख्रापालन गरिएका छन् । बाख्रपालन गर्न र सिँचाइका लागि बोरिङ जडान गर्न भने किसानले सृजनशील सहकारी संस्थाबाट ऋण लिएका छन् ।

बाख्रापालन गरेका किसानले खसी, बोका बिक्री गरी धेरैले ऋण चुक्ता गरेका छन् । केहीको अन्तिम किस्तामात्र तिर्न बाँकी छ । बाख्रापालन गरेका किसानले गहुँको भुसासँगै मकैको हरियो डाँठलाई चारोका रूपमा प्रयोग गर्दै आएका छन् ।

मकैका बोट निश्चित दूरीमा लगाइने भएकाले गोडमेल गर्न सहज हुनुका साथै सिँचाइ, गोडमेल गर्न, मलखाद छर्न सहज हुने गरेको किसान बताउँछन् । झारपात व्यवस्थापनसँगै रोग कीरा रोकथामका लागि कृषि प्राविधिकसँग किसानले सल्लाह लिने गरेका छन् । वसन्ते मकैखेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भएकाले बढी जग्गामा खेती गर्न किसान उत्साहित छन् । रासस

प्रतिक्रिया