आइतबार, वैशाख २१, २०८२

भारतसँगको तनावबीच पाकिस्तानले गर्‍यो क्षेप्यास्त्र परीक्षण

नेपालखोज २०८२ वैशाख २१ गते ९:४१

काठमाडौं । कश्मीरमा भएको घातक आक्रमणपछिको बढ्दो तनावका बीच पाकिस्तान सेनाले शनिबार ‘मिसाइल प्रक्षेपण’ गरेको जनाएको छ ।

भारत–प्रशासित कश्मीरको पहलगाममा गत महिना भएको पर्यटकमाथिको आक्रमणको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ, जसपछिको अवस्थाले दुई आणविक शक्ति राष्ट्रबीच पुनः तनाव बढाएको छ ।

पाकिस्तान सेनाले दिएको विज्ञप्तिमा ‘अब्दाली वेपन सिस्टम’ को सफल प्रशिक्षण प्रक्षेपण गरिएको जानकारी दिइएको छ । यो मिसाइल प्रणालीले ४५० किलोमिटर (२७९ माइल)सम्मको दूरीमा प्रहार गर्न सक्ने क्षमता राख्दछ ।

यो प्रक्षेपण सेनाको कार्यसञ्चालन क्षमताको परीक्षण तथा मिसाइलको प्रविधीय पक्षको मूल्याङ्कन गर्न गरिएको हो, पाकिस्तान सेनाले बताएको छ । तर प्रक्षेपण कुन स्थानमा गरिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन ।

उक्त परीक्षण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणमा कारबाही गर्न सेनालाई ‘पूर्ण स्वतन्त्रता’ दिएको घोषणा पछिको समयमै भएको हो । सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू तीर्थयात्री थिए ।

पाकिस्तानले आक्रमणमा संलग्नता अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ । यसै साता पाकिस्तानले भारतबाट सम्भावित हवाई आक्रमणको चेतावनी दिएको थियो र कुनैपनि आक्रामक गतिविधिमा बलपूर्वक प्रतिकार गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

कश्मीरको विषयमा बारम्बार युद्धमा होमिएका भारत र पाकिस्तानमाथि अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न दबाब दिएको छ । छिमेकी चीनले संयमता अपनाउन आग्रह गरेको छ भने युरोपेली सङ्घले पछिल्लो अवस्था ‘गम्भीर र चिन्ताजनक’ भएको जनाएको छ ।

अमेरिकाका उपराष्ट्रपति जे।डी। भ्यान्सले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भारतलाई ‘क्षेत्रीय द्वन्द्वमा परिणत नहुने’ किसिमले प्रतिक्रिया जनाउन आग्रह गरे । साथै, पाकिस्तानलाई ‘आफ्नो भूमिमा सक्रिय आतङ्ककारीहरूको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न’ अनुरोध गरे।

प्रतिक्रिया