आइतबार, वैशाख २१, २०८२

पंजावको शेरनी नेपालमा शरणार्थी

नेपालखोज २०८२ वैशाख २१ गते १५:२१

आजकै दिनको ठिक १७६ वर्ष अगाडि शेर-ए-पञ्जाव रणजीत सिंहकी विधवा रानी जिन्द कौरलाई श्री ३ जङ्गबहादुरले काठमाडौंमा शरण दिएका थिए । साथै १६४ वर्ष अगाडि रानीलाई नेपालबाट बिदाइ समेत गरेका थिए । पन्जाबको महारानीले १२ वर्ष नेपालमा रामचन्द्रको वनवास जस्तै गरी शरणार्थी जीवन बिताएका थिए ।

शक्तिशाली शेर-ए-पञ्जावका रुपमा चर्चा कमाएका रणजीत सिंहको निधन पछि वि.सं. १९०० असोज ४ (१८ सेप्टेम्वर १८४३) मा महाराज दलिप सिंहको राज्याभिषेक भएको थियो । यसको साथै प्रधानमन्त्रीमा राजा हिरा सिंह बने । केही समय पछि हिरा सिंहले महाराज दलिप सिंह र जिन्द कौरको हत्या गर्ने षडयन्त्र गरेको थाहा पाए पछि हिरा सिंहको नै हत्या गरिएको थियो । हिरा सिंहको हत्या पछि छोरा दलिप सिंहको अख्तियारीमा जिन्द कौरले नै शासन चलाउन थालेका थिए । अंग्रेजसंग कहिल्यै नझुकेका महाराजा रणजीतसिंहको निधन पछि पञ्जावमा अंग्रेजले आँखा गाड्न शुरु गरिसकेका थिए । साना साना राज्य सबै अंग्रेजको अधिनमा आए पनि पञ्जावलाई लिन सकेको थिएन ।

वि.सं. १९०५ मा पञ्जाव र अंग्रेज सरकारको युद्ध भयो । बिभिन्न षडयन्त्र गर्दै वि.सं. १९०५ को चैतमा पञ्जावमा पनि अंग्रेजको राज रह्यो । यस पछि अंग्रेजले राजा दलिप सिंहलाई बेलायत पठाए भने रानी जिन्द कौरलाई कैद गरेर नजरबन्दमा राखे । बिभिन्न जेलमा सार्दै अन्तमा चुनारको किलामा कैद बनाएर राखे । चुनारको किलामा कैद रहेका जिन्द कौरले एक दिन किलामा सफाइ गर्न आउने एक मजदूर महिलाको पुरानो खाडीको सारी लगाएर भेष बदलेर किलाबाट भाग्न सफल भए । किलाबाट बाहिरिए पछि उनले जोगिनीको भेष लिएर लामो गुमनाम यात्रामा निस्किए । उनका साथ जोगीकै भेषमा उनका खाल्सा जवानहरु पनि रहेका थिए ।

दरवारमा रहँदा नै उनले गुरू नानकको हिमालय यात्राका कथाहरु सुनिरहेका थिए । साथै नेपालका दयालु राजाले निमन्त्रण गरेर रहने ब्यबस्था समेत मिलाइदिएको सुनेका थिए । अन्जान यात्रामा निस्केका रानी जिन्द कौरको मस्तिष्कमा गुरू नानकको आदेश प्राप्त भयो । नेपालमा यात्रा गरेमा सुरक्षित रहने सोच्दै नेपाल जान अगाडि बढे । तर नेपालको राणा जङ्गबहादुर अंग्रेज निकट हुँदा डर पनि बनेको थियो । सुरक्षित र गोप्य यात्राको बारेमा सोच्दै गर्दा भारतबाट पशुपतिनाथका दर्शनका लागि जोगीहरुको यात्रा भइरहने चाल पाए । त्यस्तै पशुपतिनाथ दर्शन गर्ने जोगीहरुको भिडमा रानी जिन्द कौरले पनि पशुपतिनाथको यात्रा गर्ने मनसायले निस्किए ।

जिन्द कौरको गुमनाम यात्रा पशुपतिनाथ तर्फ रहे पनि उनका छोरा दलिपसिंहलाई भने अंग्रेजले बेलायत लगेका थिए । त्यहाँ उनि बेलायती सरह रहन थाले । जोगिनीको भेषमा नेपाल प्रवेश गरेका जिन्द कौर त्यतिबेलाको भिक्षाखोरी (अमलेखगञ्ज) हुदै काठमाडौ प्रवेश गरे । काठमाडौं उनको लागि अन्जान शहर थियो । काठमाडौं पुगे पछि तत्कालिन समयका प्रधानमन्त्री जङ्गबहादुरसंग शरणका लागि अनुरोध गरे । नेपालमा अंग्रेजका जासुसहरु मनग्गे थिए । कुनै पनि बेला समातेर भारत लग्ने सम्भावना थियो ।

जङ्गबहादुरसंग शरण मागे पछि जङ्गले तत्कालै सैनिकहरु पठाएर पूर्ण सुरक्षा दिदै उनको उद्दार गरि काठमाडौ ल्याएर वि.सं. १९०६ बैशाख २१ गते चौतरिया पुष्कर शाहका छोरा अमर बिक्रम शाहको घरमा राखे । नारायणहिटी दरवार नजिकै रहेको अमर बिक्रम शाहको घर रानी जिन्द कौरका लागि सुरक्षित स्थल थियो । मासिक २५०० रूपैया समेतको ब्यबस्था गरिदिएका जंगबहादुरले पछि रानी जिन्द कौरका लागि घर नै बनाइदिए । घरको माथी चारवटा बुर्जा राखिएकोले यस घरलाई चारबुर्जा महल पनि भन्न थालेको थियो ।

जङ्गबहादुरले केवल रानी जिन्द कौरलाई मात्र शरण दिएनन् । उनलाई सुरक्षित काठमाडौ सम्म पुर्याउन मद्दत गर्ने खालसा सैनिकहरुलाई पनि नेपालमा बस्ने ब्यबस्था मिलाइ दिएका थिए । जङ्गबहादुरले नै बसाएको नयाँ शहर नेपालगञ्ज भारतीय सिमा नजिकै एक गाउँ नै ति खालसा सैनिकहरुका लागि दिए । त्यो गाउँको नाम नै सिखनपुरा राखियो । अहिले पनि सिखनपुरामा १७६ वर्ष अगाडि नेपाल पसेका खालसा सैनिकहरुका सन्ततिहरुको बसोबास रहेको छ । सिधै शेर-ए-पञ्जावसंग आबद्ध रहेका ति खालसा सैनिकहरुका बंशज आज पनि कट्टर सिख धर्मका आचरणहरु पुरा गरिरहेका छन् ।

बलभद्रलाई एक वीर योद्धाका रुपमा लाहोरमा स्वागत गरेका शेर-ए-पंजाव रणजितसिंहका रानी जिन्द कौरलाई नेपालमा स्वागत गर्ने अवसर तिनै बलभद्र कुँवरका भतिजा जङ्गबहादुरले पाएका थिए । यसरी आफ्ना काका बलभद्र कुँवरका अन्नदाता रणजितसिंहको रानी जिन्द कौरलाई शरण दिएर काकाको ऋण चुक्ता गरेका थिए ।

अंग्रेज सरकारले त्यसबेला जंगबहादुरलाई महारानीको सुपुर्दगी गर्न अनुरोध गर्दा जंगले भनेका थिए । हाम्रो धर्म शरणमा आएकाहरुको रक्षा गर्नु हो तसर्थ शरणको मरण गर्नु हुदैन, भन्दै अंग्रेज सरकारको अनुरोध अस्विकार गरेका थिए ।

वि.सं. १९१८ मा नेपाल छोडेर बेलायत फर्कने बेला सो महल रानी जिन्द कौरले एक ब्राम्हणलाई दान दिएर गए । ब्राम्हणलाई दान दिएको खोस्नु हुदैन भनेर ब्राम्हणबाट जंगबहादुरले किनेर फिर्ता लिए । थापाथलीको सो घर पछि काशी बाईलाई जङ्गबहादुरले दिए ।

जङ्गबहादुरले पञ्जावका महाराजा रणजीत सिंहको रानी जिंद कौरलाई बहिनीको रूपमा सम्मानित रुपमा राखेको हुँदा सिखहरुले काठमाडौलाई मामाघर र नेपालीहरुलाई मामाको रुपमा सम्मान गर्दथे ।

बारम्बार अंग्रेज सरकारसंग छोरासंग भेट्न अनुमति माग्दा पनि उनले पाएनन् । अन्तत काश्मिरमा रहेका सिख योद्धा भाइ महाराज सिंहसंग उनको सम्पर्क भयो । भाइ महाराज सिंह अंग्रेजको कट्टर बिरोधि भएको हुँदा उनबाट रानीले सहयोग पाउने अपेक्षा गरेका थिए । रानीको निरन्तर भारतमा रहेका खालसा सैनिकहरुसंग गोप्य सम्पर्क भइरहेको थियो । गोप्य रूपमा नेपाल पस्दै गरेका ६ खालसा सैनिकहरुलाई नेपाल सिमा नजिकै अंग्रेज सरकारले समाते पछि जङ्गबहादुरलाई रानी माथि बिशेष निगरानी राख्न अनुरोध समेत गरेका थिए । जङ्गले ब्रिटिस रेसिडेन्टलाई रानीले खालसा सैनिकका लागि रू २००० सहयोग पठाउँदा यस कार्यमा रोक लगाउँदा रानीसंग सम्बन्ध केही बिग्रिएको जानकारी समेत दिएका थिए ।

रानी भारतमा सम्पर्क गर्ने क्रममा काश्मिरका राजा गुलाव सिंहबाट गोप्य पत्र समेत पाएका थिए । जसले गर्दा केही गरि काश्मिर पुग्न सकेमा सुरक्षित रहने ब्यबस्था समेत मिलाउने जानकारी समेत दिएका थिए । यसरी बिभिन्न सम्पर्क गरिरहेका उनलाई यदि भारतीय भूमीमा समातिए भने अझ कठोर कारावासमा राखिने सकिने हुँदा भारत नजान आग्रह समेत गरिएको थियो । अंग्रेज सरकारको बारम्बारको दवावका कारण जङ्ग पनि रानी जिन्द कौर प्रति केही कठोर बन्दै गएका थिए ।

जङ्गले उनका निकट सहयोगीलाई काठमाडौबाट निश्काशन गरे । साथै उनको महलमा रहँदै आएका सम्पूर्ण नेपाली कर्मचारी पनि हटाइदिए । र थापाथली दरवारमा नै रहन समेत अनुरोध गरे । तर रानीले जङ्गको प्रस्ताव अस्विकार गरे । उता बेलायतमा रहेका छोरा दिलिप सिंहसंग पनि उनको गोप्य सम्पर्क भएको थियो । छोरासंग बेलायतमा बस्न समेत इच्छा ब्यक्त गरेका थिए । छोरा दिलिप सिंहले आमालाई आफू लाचार भइ केही गर्न नसक्ने भन्दै लेखेको प्रत्युत्तर पत्र काठमाडौमा रहेको ब्रिटिस रेसिडेन्टको हात परेको थियो ।

वि.सं. १९१७ को अन्तमा दिलीप सिंहलाई अंग्रेज सरकारले भारत फिर्ता आउन अनुमति दिए । तर पंजाव जान नपाउने भनियो । त्यतिबेला सम्म जिन्द कौर पनि बुढी भइसकेकी थिइ । तसर्थ जिन्द कौरलाई पनि नेपालबाट भारत आउन छुट दिए । अन्तत नेपाल प्रवासको १२ वर्ष पछि वि.सं. १९१८ को बैशाखमा रानी जिन्द कौरले थापाथली दरवार नजिकै उनका लागि बनाइदिएको चारबुर्जा दरवार एक ब्राम्हणलाई दान दिएर जङ्गबहादुरसंग बिदाइ लिँदै कलकत्ताका लागि हिडिन् । कलकत्ता बन्दरगाह नजिकै आमा छोराको भेट भयो । जिन्द कौर र दिलीप सिंह लण्डन गए । लण्डन गएको दुई वर्ष पछि वि.सं. १९२० साउन २० गते बेलायतको केंसिंगटनमा महारानी जिन्द कौरको देहावसान भयो ।

प्रतिक्रिया