‘नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको बताएकी छिन् ।
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले प्रस्तुत नीति कार्यक्रम वितगका भन्दा वैज्ञानिक, यथार्थ धरातलमा टेकेको र सान्दर्भिक रहेकाले विरोध गर्नुपर्ने कारण नरहेको बताइन् ।
यथास्थितिबाट जनतालाई समृद्ध र सुखी बनाउन सक्दैनौँ, त्यसैले हामीले अङ्गाल्दै आएको विकासको ढाँचामा कमजोरी भएको विषयलाई नीति तथा कार्यक्रमले आत्मसात् गरेको छ, नीति तथा कार्यक्रमको स्वागत र समर्थन गर्दै मुख्य सचेतक न्यौपानेले भनिन्, सङ्घका १८ हजार आयोजनामध्ये कतिपय आयोजना अलपत्र र अनावश्यक छन्, त्यसकारण सोचेजस्तो विकास हुन सकेको छैन, अब विकासको मोडल परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई पहिलोपटक नीति कार्यक्रमले आत्मसात् गरेको छ ।
यसअघिका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठाएका विषयलाई सम्बोधन हुनेगरी नीति कार्यक्रम आएको उनको भनाइ छ । नीति कार्यक्रममा कार्यान्वयन गर्न सकिने विषय मात्रै समावेश गरिएको छ, उनले भनिन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र पुनरुत्थानवादको प्रतिवाद गर्ने, संविधानको रक्षा, संशोधन र कार्यान्वयन, राजनीतिक स्थायित्वलगायत विषय नीति कार्यक्रमका सकारात्मक पक्ष भएको बताइन् ।
प्रतिक्रिया