स्थायी युद्धविराम बिना संवाद सम्भव छैन : हमास
गाजा । हमासका एक वरिष्ठ अधिकारीले इजरायलसँग कुनै नयाँ युद्धविराम वा बन्दी विनिमयसम्बन्धी वार्तामा सहभागी नहुने स्पष्ट धारणा व्यक्त गरेका छन् ।नाम उल्लेख नगर्ने सर्तमा उनले सिन्ह्वालाई जानकारी दिँदै भने, ‘इजरायलले गाजामा अस्थायी युद्धविरामको प्रस्ताव अघि सारेको छ, तर यसपछि पुनः आक्रमण सञ्चालन गर्ने आशङ्का रहेकोले हामी यस्तो प्रस्ताव स्वीकार गर्न सक्दैनौं ।’
उनले थप स्पष्ट पारे, ‘हामीले मध्यस्थकर्तामार्फत आफ्नो आधिकारिक अस्वीकृति जानकारी गराइसकेका छौं । युद्ध स्थायी रूपमा अन्त्य हुने सुनिश्चितता बिना कुनै पनि प्रकारको वार्तामा भाग लिने स्थिति छैन । हमास अधिकारीले गाजावासीमाथि भोकमरी सिर्जना गरी दबाब दिन खोजिएको आरोपसमेत लगाए । उनले भने, ‘यस किसिमको सामूहिक दण्डको नीति इजरायलको उद्देश्य प्राप्तिमा सहायक हुने छैन ।’
इजरायली प्रशासनले सन् २०२५ मार्च २ देखि गाजामा वस्तु तथा आपूर्तिको प्रवेश रोकिदिएको छ । यो निर्णय जनवरी महिनाको प्रारम्भिक युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछिको प्रतिक्रिया स्वरूप लिइएको हो । संयुक्त राष्ट्रसङ्घले गाजामा गम्भीर मानवीय सङ्कट उत्पन्न हुने चेतावनी दिँदै, विशेष गरी बालबालिकामा कुपोषण तथा तीव्र भोकमरीका लक्षण देखिन थालेको बताएको छ ।
संयुक्त राष्ट्रका अनुसार, इजरायली अधिकारीहरूले मानवीय सहायता वितरणको प्रणाली परिवर्तन गरी सैनिक नियन्त्रणमा रहेका वितरण केन्द्रहरूमार्फत राहत सामग्री प्रवाह गराउने प्रयास गरिरहेका छन्, जसले युएन एजेन्सी र गैरसरकारी संस्थाहरूको स्वतन्त्रतामा असर पार्न सक्ने सम्भावना छ । रासस/सिन्ह्वा
प्रतिक्रिया