‘नीति तथा कार्यक्रमले दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेको छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्कता, दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मुलुकमा केही भएन भनेर स्थापित गर्न खोजिएको नकारात्मक भाष्यलाई खण्डन गर्न सकेको बताए ।
नीति तथा कार्यक्रम जनता केन्द्रित रहेको भन्दै उनले विकासका लागि दीर्घकालीन रूपमा सार्थक प्रयास गरिनुपर्ने उल्लेख गरे । उनले दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद कार्कीले सूचना प्रविधिको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रणालीमा जोड दिनुपर्ने र रासायनिक मल कारखाना स्थापनाका लागि यथेष्ट बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिए ।
प्रतिक्रिया