शुक्रबार, वैशाख २६, २०८२

चौधरी पक्राउ बारे गृहमन्त्रीले भने- कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह थिएन

नेपालखोज २०८२ वैशाख २५ गते २०:४१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे सदनलाई जानकारी दिएका छन् । उनले संरक्षक चौधरीलाई पक्राउ गरिएको सम्बन्धमा सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।

प्रतिनिधिसभामा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका विषयको जवाफ दिँदै गृहमन्त्री लेखकले यसअघि अदालतबाट हुने गरेका पत्राचारलाई कार्यान्वयन गरे जस्तै चौधरीलाई पक्राउ गरिएको घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गरिएको बताए । भविष्यमा यस प्रकारका घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतमा कार्यरत शाखा अधिकृत महिमानसिंह विष्टले आफ्नो विवेक बाहिर गएर अनधिकृत पत्र लेखेका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ परेको घटनाप्रति गृहमन्त्री लेखकले दुःख व्यक्त गरे । ‘घटनाबारे प्रहरी महानिरीक्षकबाट जानकारी प्राप्त हुनासाथ सर्वोच्च अदालतका रजिष्ट्रारसँग सोधपुछ गर्दा पत्र अदालतको आधिकारिक नभएको र अदालतबाट थप छानविन भइरहेको जानकारी पायौँ, उक्त पत्र आधिकारिक नभएको जानकारी प्राप्त हुनासाथ रेशम चौधरी रिहा हुनुभएको छ’, उनले भने ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शाखा अधिकृत विष्टलाई तत्काल पक्राउ गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले जानकारी दिए ।- रासस

प्रतिक्रिया