सङ्घीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ : नेता सिटौला

इटहरी (सुनसरी) । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सङ्घीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताएका छन् ।
आज यहाँ नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौँ प्रदेश सम्मेलनमा उहाँले अझै केन्द्रीकृत एकात्मक मानसिकता कायम रहेको बताए । कांग्रेस राष्ट्रियसभाका नेता सिटौलाले व्यवस्थाअनुसारको सोच र सामन्तवादी संस्कार बदल्न आवश्यक रहेको धारणा राखे ।
‘सङ्घीयतामा जानु भनेको सङ्घीयताको मर्मअनुसारका व्यवस्था इमानदारीका साथ कार्यान्वयन गर्नु हो तर हरेक क्षेत्रमा समस्या छ । भएकै अधिकारको पनि विकेन्द्रीकरण गर्न सकेका छैनौँ । यसर्थ हाम्रो संस्कारलाई नबदलेसम्म राज्य संरचना राम्रोसँग चल्दैन’, उनले भने ।
नेता सिटौलाले दुई ठूला पार्टी नेकपा (एमाले) र कांग्रेसले संविधान संशोधनको मुद्दा उठाएर सरकार गठन गरे पनि हालसम्म यस विषयमा कुनै ठोस छलफल नगरेकामा चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, राजीव कोइराला, राजीव ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । -रासस
प्रतिक्रिया