सोमबार, वैशाख २९, २०८२

नेपालको पहिलो आमनिर्वाचनको ऐतिहासिक दस्तावेज: प्रक्रिया, संघर्ष र परिणाम

सुनिल उलक २०८२ वैशाख २९ गते ११:२८

आज बैशाख २८ गते आजकै दिन ६६ वर्ष अगाडि पहिलो आमचुनावको नतिजा प्रकाशित भएको थियो ।

२००७ सालमा प्रजातन्त्रको घोषणासंगै राजा त्रिभुवनले देशमा आमचुनाव गराउने घोषणा गरेका थिए । तर सात साल पछि बनेका सरकारहरुको रवैया तथा राजा त्रिभुवनको स्वर्गारोहण पछि राजा महेन्द्रको राजनैतिक बिचारधाराले गर्दा आमचुनावको तिथि मिति यकिन हुन सकेन । धेरै पटक चुनावका कुरा उठे बिचमै सेलाए । सात साल पछि बनेको हरेक प्रधानमन्त्रीले आमचुनाव गराउने एजेन्डा पनि प्रस्तुत गर्दथे । तर सरकार चलाउने नै यकिन नभएको त्यसबेलाका प्रधानमन्त्रीहरुको एजेन्डा केवल गफ मात्र बन्दथे ।

अन्तत राजा महेन्द्रले २०१५ जेठ २ गते सुवर्ण शम्शेरको अध्यक्षतामा गठन भएको मन्त्रीपरिषदलाई आमचुनाव गराउने जिम्मेवारी दिइयो । जसका लागि पूर्वाधार स्वरुप २०१५ फागुन १ गते राजा महेन्द्रबाट नेपाल अधिराज्यको पहिलो संविधानको घोषणा भयो ।

राजा महेन्द्रलाई राजाको सल्लाहकारहरुलेहरुले गोप्यरुपमा नेपाली कांग्रेसको पक्षमा जनता धेरै नभएको तथा चुनावमा कांग्रेसको बहुमत नआउने जानकारी दिएका थिए । जसको कारणले राजा महेन्द्र चुनावका लागि तैयार भए । तर चुनाव पछि राजाले सोचे भन्दा बिपरित परिणाम देखियो कांग्रेसको पक्षमा बहुमत देखिएको हुँदा राजा चुनावको परिणाम घोषणा गर्ने पक्षमा नै पुगेनन् । परिणाम प्रकाशित गर्न निकै ढिलाई गरियो ।

बारम्बार चुनावको तिथिमिति नतोकिनु वा चुनाव गराउँछु भनेर सरकार बनाउनेहरुले पनि चुनाव गर्न नसकेपछि नेपाली कांग्रेसले अन्य दलहरुसंग मिलेर प्रजातान्त्रिक मोर्चा बनाएको थियो । काठमाडौमा बिपी कोइरालाको नेपाली कांग्रेस, डिल्लीरमण रेग्मीको नेपाली राष्ट्रिय कांग्रेस र भद्रकाली मिश्रको नेपाल प्रजा परिषद मिलेर २०१४ साउन १४ गते प्रजातान्त्रिक मोर्चा बनाएको थियो । यस मोर्चाको मूल उद्धेश्य नै आमचुनाव गराउने थियो । मोर्चाको गोप्य बैठक वीरगंजको हिमालय होटलमा डाकिए पनि दिल्लीरमण र भद्रकाली मिश्र नपुग्दा बिपीले आफ्नो पक्षधरहरु मात्रै जम्मा गरेर असोजको २१ र २२ मा बैठक गरे । यहिं बैठकले मंसिर २२ देखि भद्र अवज्ञा आन्दोलनको घोषणा गर्यो ।

निर्धारित मितिमा भद्र अवज्ञा आन्दोलनको तैयारी भयो । वीरगंजको हिमालय होटलको बैठकमा नपुगे पनि दिल्लीरमण र भद्रकाली मिश्रले बिपीको चाहना बमोजिमको आन्दोलनमा साथ दिन पुगेका थिए । बिहानै दुबै कांग्रेसका कार्यकर्ता तथा मिश्रको नेपाल प्रजापरिषदका कार्यकर्ताहरु सिंहदरवारको पश्चिम ढोका प्रवेश रोक्न पुगिहाले । कोही चारखाल अड्डाको मूलढोका अगाडि पुगेका थिए ।

आन्दोलन रोक्न सरकारले प्रहरी बोलाएर वारुणयन्त्रको दमकलबाट पानीको फोहोरा हानेर आन्दोलनकारीहरुलाई तितरबितर पारे, केहीलाई समाए पनि । यसरी चुनावका लागि आन्दोलन नै हुन थालेपछि राजा महेन्द्रलाई पनि एकपटक सोच्नै पर्ने आबश्यकता भयो । राजा महेन्द्रले चुनावको घोषणा गर्नु अगाडि सल्लाहकार सभाका केही सदस्यहरुसंग नेपाली कांग्रेसको चुनावी परिणामको आकलन गर्न लगाए । ति सल्लाहकारहरुले चुनाव भइहाले पनि नेपाली कांग्रेसले खासै विजय नगर्ने मुश्किलले २०-२२ सिटमा मात्रै विजय गर्न सक्ने भनेपछि राजा महेन्द्र चुनावको तैयारीका लागि निर्देशन दिए । जस अनुसार २०१५ असार २० निर्वाचन आयोगको सल्लाह लिइ जनप्रतिनिधित्व नियमावली २०१५ घोषणा भयो । यसरी सम्पूर्ण तैयारी शुरु भए पछि २०१५ कार्तिक २४ मा निर्वाचन आयोगको सूचना नं १ जारी भयो । जस अनुसार जुम्ला जिल्लाको क्षेत्र नं ७३ जुम्ला उत्तर र क्षेत्र नं ७४ जुम्ला दक्षिण बाहेक १०७ निर्वाचन क्षेत्रहरुको निर्वाचनको सूचना जारी भयो । कार्तिक २४ देखि मंसिर २३ सम्म नोमिनेशन दाखिल गर्ने, मंसिर २४ देखि ३० सम्म नोमिनेशन जाँच गर्ने, नोमिनशन जाँच गरेको तेश्रो दिनमा नाम फिर्ता लिने । जुम्ला उत्तर तथा दक्षिणको भने चैत्र ५ र २१ गते चुनावको घोषणा भएको थियो ।

२०१५ मंसिर ११ गते राजा महेन्द्रले चुनावको घोषणाका लागि सल्लाहकारको सभा बोलाई २०१५ मंसिर १५ गते राजा महेन्द्रले शाही सम्बोधनबाट निर्वाचनको घोषणा भयो २०१५ सालको फागुन ७ गते चुनाव गर्ने घोषणा गरेका थिए । चुनावको तिथिमिति नै तोकिए पछि राजनैतिक पार्टीहरुको चुनावी चहलपहल शुरु भयो । राजा महेन्द्र पनि चुनावमा प्रमुख दलका नेतालाई कसरी हराउने भन्ने दाउमा लागेका थिए । प्रमुख नेताहरु उठेको स्थानमा गोप्यरुमा राजा महेन्द्रले पनि बिभिन्न ब्यक्तिहरुलाई उठाएका थिए । तर यसरी उठाइएका कोही पनि जित्न सकेनन् ।

तत्कालिन समयमा १०९ निर्वाचन क्षेत्र तोकिएका थिए । प्रत्येक निर्वाचन क्षेत्रमा एक खरदार दर्जाको निर्वाचन अधिकृत तोकिएको थियो । साथै जसमा ३१ जनालाई जिल्ला निर्वाचन अधिकृत तथा चार जना जोनल निर्वाचन अफिसर तोकिएको थियो । निम्न अनुसार जिल्ला निर्वाचन अधिकृत तथा जोनल निर्वाचन अफिसर तोकिएको थियो ।

त्यतिबेला चुनावमा उठ्नको लागि केवल २५० रुपैया धरौटी राख्नुपर्दथ्यो । चुनावका लागि प्रत्येक उम्मेदवबारले बढिमा ५००० सम्म खर्च गर्न पाउने नियम बनाइएको थियो । अधिकतम राजनैतिक दलहरुको चुनाव चिन्ह यस प्रकारको रहेको थियो ।

नेपाली कांग्रेस (बिपी कोइराला)- रुख,

नेपाली राष्ट्रिय कांग्रेस (डा. डिल्लीरमण रेग्मी)- छाता,

नेपाल प्रजा परिषद (भद्रकाली मिश्र) – हलो

नेपाल राष्ट्रवादी गोर्खा परिषद (रणधीर सुब्बा)- झुपडी,

नेपाली कम्यूनिष्ट पार्टी (महासचिव केशरजङ्ग रायमाझी)- मकैको तीन घोगा र हँसिया,

संयुक्त प्रजातन्त्र पार्टी (डा. केआइ सिंह) – धानको बाला,

राष्ट्रिय मोर्चा () – लालटीन

नेपाल प्रजातान्त्रिक महासभा (रङ्गनाथ शर्मा) – हात,

नेपाल प्रजा परिषद (टंकप्रसाद आचार्य) – घन र कोदालो,

नेपाल तराइ कांग्रेस (बेदानन्द झा) – लगौटी लगाएको मानिस टाउकोमा गहुँको बोझा

राष्ट्रिय पञ्चायत ()- बाख्रा

तोकिएको थियो भने स्वतन्त्रका लागि पानस, माछा, फूल, घोडा, डुङ्गा, चरा, धारा, ताल्चा, मसीकलम, घण्टा, सारङ्गी, घडी, घैला, तराजू र हात्ती तोकिएको थियो ।

एघार वटा दलले सूचीकृत गरे पनि राष्ट्रिय मोर्चा र राष्ट्रिय पञ्चायत दलले सरकारले तोके अनुसार २० प्रतिशत पनि उम्मेदवार उठाउन नसके पछि दलका रुपमा चुनाव चिन्ह नै पाएन ।

निर्धारित मितिमा नै चुनाव शुरु भयो । १०९ प्रतिनिधी सभा सदस्यको लागी नेपाली कांग्रेसले १०८, नेपाल राष्ट्रवादी गोर्खा परिषदले ८६, संयुक्त प्रजातन्त्र पार्टीले ८६, नेपाल कम्युनिष्ट पार्टीले ४७, नेपाल प्रजा परिषदले (टंकप्रसाद) ४६, नेपाल प्रजा परिषदले (भद्रकाली मिश्र) ३६, नेपाल प्रजातान्त्रिक महासभा ६८, तराई कांग्रेस २१, नेपाली राष्ट्रिय कांग्रेस २१ तथा स्वतन्त्र उम्मेदवार २६८ जना गरि ७८७ जना चुनावी मैदानमा होमिएका थिए । केवल मतदाता ४२ लाख ४६ हजार ४६८ रहे पनि चुनाव गराउन करिव ५२ दिन लागेको थियो । फागुन ७ गते शुरु भएको चुनावमा झापाको चुनाव चैत्र १३ गतेका लागि सारिएको थियो भने जुम्लाको मिती पछि निर्धारण भएर चैत्र ५ गते जुम्ला दक्षिण र चैत्र २१ गते जुम्ला उत्तरको चुनाव मिति तोकिएको थियो । अन्तत चैत्र २७ मा बल्ल सकिएको थियो । सबै चुनावको प्रक्रिया चैत्र २७ मा समाप्त भए पनि मत गन्न केही समय लाग्यो । चुनावको मत गनिए पनि परिणाम दिन राजा महेन्द्र उत्सुक रहेनन् । राजा महेन्द्रले अपेक्षा गरे भन्दा परिणाम धेरै नै भिन्न आएको थियो । तसर्थ राजाले मत परिणामको घोषणा गर्न निकै समय लगाए ।

मत परिणामको प्रतिक्षाकै समय २०१६ बैशाख २५ देखि बैशाख ३१ गते कांग्रेसको सातौ अधिबेसन काठमाडौमा भयो । बैशाख ३१ गते सुवर्ण शम्शेरको निजी निवास ललिता निवास बालुवाटार (हाल प्रधानमन्त्री निवास)मा भएको छलफलले बिपी कोइरालालाई संसदिय दलको नेता तथा सुवर्ण शम्शेरलाई उपनेता चयन गरेको थियो ।

अन्तत चुनाव आयोगले २०१६ बैशाख २८ गते विजयीहरुको नामावली सहित आमचुनावको नतिजा प्रकाशित गर्यो । नतिजामा नेपाली कांग्रेसले ३३.६५ प्रतिशत मत सहित ७४ सिटमा बिजय हासिल गरेको थियो । अन्यमा नेपाल राष्ट्रवादी गोर्खा परिषदले १५.२९ प्रतिशत मत सहित १९ सिट, संयुक्त प्रजातन्त्र पार्टीले ५, नेपाल कम्युनिष्ट पार्टीले ४, नेपाल प्रजा परिषदले (टंकप्रसाद) २, नेपाल प्रजा परिषदले (भद्रकाली मिश्र) १, तथा स्वतन्त्र उम्मेदवार ४ जना बिजयी भएका थिए ।

चुनावमा ४६.६५ प्रतिशत अर्थात केवल १९ लाख ८१ हजार ३८१ मतदाताको मात्र मत बैध भएको थियो । ११ वटा राजनैतिक दल दर्ता भए पनि ९ वटा राजनैतिक दलले मात्र भाग लिन पाए । तर पनि अधिकांश दल प्रमुखको हार भएको यस चुनावमा नेपाली कांग्रेसका पार्टी प्रमुख बिश्वेश्वर प्रसाद कोइरालाले मात्र विजय हासिल गरेका थिए । साथै नेपाली कांग्रेसको सुवर्ण शम्शेरले भने तीन ठाउँबाट चुनाव लडेकोमा तीन वटै ठाउँबाट विजय हासिल गरेको थियो । अन्य दलमा राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मी, नेपाल प्रजा परिषदका भद्रकाली मिश्र, गोरखा परिषदका रणधीर सुब्बा, संयुक्त प्रजातन्त्र पार्टी, तराइ कांग्रेसका वेदानन्द झा, प्रजातान्त्रिक महासभाका रङ्गनाथ शर्मा, नेकपाका महासचिव केशरजङ्ग रायमाझी सबैको हार भएको थियो । अधिकांश राजनैतिक पार्टीहरुको नतिजाको अवस्था खासै राम्रो थिएन । देशैभर गरेर २६८ स्वतन्त्र उम्मेदवार रह्कोमा केवल चारले विजय हासिल गरेको थियो भने बाकी सबैको जमानत समेत जफत भएको थियो ।

राजा महेन्द्रले जेठ ८ गते सरकार गठनको लागी आह्वान भए पछि जेठ १३ गते बिधिवत रुपमा बिपी कोइरालाको नेतृत्वमा नेपालको पहिलो जननिर्वाचित सरकारको घोषणा भयो ।

प्रधानमन्त्री – विश्वेश्वर प्रसाद कोइराला

उप प्रधानमन्त्री – सुवर्ण शम्शेर जबरा

मन्त्री – गणेशमान सिंह

मन्त्री – सूर्यप्रसाद उपाध्याय

मन्त्री – रामनारायण मिश्र

मन्त्री – काशीनाथ गौतम

मन्त्री – परशुनारायण चौधरी

मन्त्री – शिवराज पन्त

उप मन्त्री – प्रेमराज आङदेम्बे

उप मन्त्री – ललित चन्द

उप मन्त्री – द्वारिकादेबी ठकुरानी

उप मन्त्री – मीनबहादुर गुरुङ

उप मन्त्री – जमानसिंह गुरुङ

उप मन्त्री – नेवबहादुर मल्ल

उप मन्त्री – योगेन्द्रमान शेरचन

उप मन्त्री – तुलसी गिरी

उप मन्त्री – शिवप्रताप शाह

उप मन्त्री – दिवान सिंह राई

उप मन्त्री – सूर्यनाथ दास यादव

चन्द्रशम्शेरले सिंहदरवार बनाउँदा मूल भवनको पछाडी नै निजि थियटर भवन पनि बनाएका थिए । जसलाई उनले ग्यालरी बैठक नाम दिएका थिए । यहि ग्यालरी बैठकमा उनले नाचगान, भोजभतेर तथा बिदेशी पाहुनाको स्वागत सत्कार गर्ने गर्दथे । २००४ सालमा राणा प्रधानमन्त्री पद्म शम्शेरले भारदारी सभा गठन गरे पछि यसको बैठक यहि भवनमा नै गराए । २००४ सालको माघ १३ गते पहिलो भारदारी सभाको बैठकबाट नै “नेपाल सरकार बैधानिक कानुन २००४” घोषणा भएको थियो । २००७ पुस २४ मा राणा प्रधानमन्त्री मोहन शम्शेरले भारदारी सभा बोलाई राजा त्रिभुवनलाई राजा मान्न तैयार रहेको प्रस्ताव यहि भवनमा पारित गराएका थिए । देशमा प्रजातन्त्र आएपछि २००७ चैत्र २९ गते पहिलो भारदारी सभाको बैठक पनि यहि भएको थियो ।

सोही ग्यालरी बैठक नै देशको प्रथम निर्वाचित प्रनिनिधीको लागी महासभा भवन बन्यो । २०१६ असार १६ गते मंगलवारको दिन पहिलो महासभाको बैठक यहि ग्यालरी बैठकमा भएको थियो ।

प्रतिक्रिया