सोमबार, वैशाख २९, २०८२

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

नेपालखोज २०८२ वैशाख २९ गते १४:५८

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन अमेरिकी नेता र अधिकारीहरूलाई बेइजिङमा सोमबार स्वागत गरेको छ।

अमेरिकासँगको व्यापार युद्धपछि बेइजिङले हालैका वर्षहरूमा ल्याटिन अमेरिकी राष्ट्रहरूसँग आर्थिक र राजनीतिक सहयोग बढाएको छ ।

उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको कर वृद्धिविरुद्ध संयुक्त मोर्चाबनाउन आग्रह गरेको छ। ल्याटिन अमेरिकी मुलुकमध्ये दुई तिहाइ बेइजिङको ट्रिलियन डलरको बेल्ट एन्ड रोड (बीआरआई) पूर्वाधार कार्यक्रममा सामेल भएका छन् र चीनले ब्राजिल, पेरु र चिलीलगायतको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा अमेरिकालाई उछिनेको छ ।

चीन र ३३ सदस्यीय ल्याटिन अमेरिकी तथा क्यारेबियन स्टेट्स समुदाय (सीईएलएसी) बीच मङ्गलबारदेखि औपचारिक रुपमा फोरम सुरु हुँदैछ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पाँचदिने राजकीय भ्रमणका लागि शनिबार बेइजिङ आइपुगेका छन् ।

लुलाले सन् २०२३ को सुरुमा सत्तामा आएदेखि नै चीन र अमेरिकासँग सम्बन्ध सुधारगर्ने प्रयास गर्दै आएका छन् । संयुक्त राष्ट्रसङ्घको कम्ट्रेड डाटाबेसका अनुसार गत वर्ष ब्राजिलले चीनमा ९४ अर्ब डलरभन्दा बढीको निर्यात गरेको थियो ।

दक्षिण अमेरिकी कृषि शक्ति राष्ट्र ब्राजिलले मुख्यतया सोयबिन र अन्य प्राथमिक वस्तुहरू चीनमा पठाउँछ भने चीनले ब्राजिललाई सेमीकन्डक्टर, टेलिफोन, सवारी साधन र औषधिहरू बेच्दछ।

सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले क्युबाका ब्रुनो रोड्रिग्वेज पेरिला, भेनेजुएलाका यभान गिल, पेरुका एल्मर सियालर र उरुग्वेका मारियो लुबेट्किनलाई बेइजिङको अलङ्कृत दियाओयुताई स्टेट गेस्टहाउसमा बोलाएका थिए ।

सम्मेलनमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र चिलीका राष्ट्रपति गेब्रियल बोरिकको पनि सहभागिता रहने बताइएको छ । पेट्रोले गत साता आगामी दिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुँदा बीआरआईमा सामेल हुन ‘आशय पत्र’मा हस्ताक्षर गर्ने बताएका थिए ।

प्रतिक्रिया