मंगलबार, वैशाख ३०, २०८२

मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने- पानी र रगत एकसाथ बग्न सक्दैन

नेपालखोज २०८२ वैशाख २९ गते २१:१४

काठमाडाैं । भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री मोदीले अप्रिल २२ मा पहलगाम आक्रमणपछि सम्पूर्ण देश, हरेक राजनीतिक दल, आतंकवादविरुद्ध एक स्वरमा उभिएकाे बताए ।

उनले भने, ‘हामीले भारतीय सेनालाई आतंककारीहरूलाई मेटाउन पूर्ण स्वतन्त्रता दिएका छौं । आज हरेक आतंककारी, हरेक आतंकवादी संगठनलाई थाहा छ कि हाम्रा दिदीबहिनी र छोरीहरूको निधारबाट सिन्दूर निकाल्दा के परिणाम हुन्छ ।’

उनले यो पनि भने कि ‘अपरेशन सिन्दूर अन्तर्गत भारतको सैन्य कारबाही अहिलेको लागि मात्र स्थगित गरिएको छ।’

प्रधानमन्त्री मोदीले भने, ‘आगामी दिनहरूमा पाकिस्तानले चालेको हरेक कदमको मूल्याङ्कन उसले अपनाएको दृष्टिकोणको आधारमा गरिनेछ।’

प्रधानमन्त्री मोदीले पाकिस्तानमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाए । उनले भने, ‘यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ।’

प्रधानमन्त्री मोदीले भने, ‘भारतको विचार एकदमै स्पष्ट छ, आतंक र वार्ता एकसाथ हुन सक्दैन। आतंक र व्यापार एकसाथ हुन सक्दैन। पानी र रगत पनि एकसाथ बग्न सक्दैन।’

उनले भने, ‘हाम्रो घोषित नीति यो रहेको छ कि यदि पाकिस्तानसँग कुनै वार्ता हुन्छ भने, त्यो आतंकवादमा मात्र हुनेछ। यदि पाकिस्तानसँग कुनै वार्ता हुन्छ भने, त्यो केवल पाकिस्तान अधिनस्थ कश्मीर ९पीओके० मा हुनेछ।’ बीबीसी

प्रतिक्रिया