सिद्धार्थ राजमार्गको गौरवगाथा: नेपालको पूर्व–पश्चिम यात्रामा युगान्तकारी मोड

आजको ठिक ५३ वर्ष अगाडि समुद्घाटन भएको एस.पि.आर. अर्थात सुनौलि पोखरा रोड, जसलाई पछि सिद्धार्थ राजमार्ग नामाकरण गरिएको थियो ।
नेपालको पहिलो पञ्चवर्षिय योजनाको शुरूवातका साथ साथ भारतले सन १९५६-६१ का लागि १० करोड सहयोग राशिको बचन दिएको थियो । तर सो पाँच वर्षमा भारतले दिने भनेको रकम पुरा खर्च भएन, ४ करोड रकम बच्यो । साथै भारतले नयाँ पञ्चवर्षिय योजनाका लागि अर्को १४ करोड दिने तैयारी समेत गर्यो । जसले गर्दा सन १९६१-६६ का लागि जम्मा १८ करोडको आर्थिक सहयोग भारतले नेपाललाई दिने भयो । यो रकम सन १९५६-६१ का योजना पुरा हुन नसकेका लागि पनि पुरा गर्ने बचन दिइएको थियो ।
सुनौली पोखरा रोड बनाउने बिषयमा प्रधानमन्त्रि नेहरुले नै बिशेष चासो राखेका थिए । यसै क्रममा निर्माण, आवास तथा पुनर्वास मंत्रालयका सचिव प्रेम किशनको कार्यकक्षमा ७ फेब्रुअरी १९६४ मा बिशेष छलफल भएको थियो । सो छलफलमा सोही मन्त्रालयका उपसचिव एस. चौधरी, सहसचिव आर.सि. मेहरा, विदेश मन्त्रालयका सचिव एम.जि. कौल, उपसचिव एम. रसगोत्रा, इन्डिया एड मिशनका डाइरेक्टर डि.आर. कोहली, यातायात मन्त्रालयको सडक तर्फका अतिरिक्त परामर्शदाता इञ्जिनियर गोवर्धन लाल, केन्द्रिय लोक निर्माण विभागका मुख्य इञ्जिनियर एन.जि. देवान, सह मुख्य इञ्जिनियर वि.आर. वैस, सुपरिवेक्षण इञ्जिनियर बि.डि. आहुजा तथा प्रशासन निर्देशक के.सी. जोशी सहभागी भएका थिए । शुरुमा २ करोड ४० लाख भारतीय रुपैयामा सम्पन्न हुने भनिए पनि पछि १० करोड लाग्ने अनुमान गरिएको थियो ।
२०२१ भदौ १० गते अर्थात १९६४ अगष्ट २५ का दिन भारत सरकार र नेपाल सरकार बिच १५ बुँदे सम्झौता भयो । जसमा भारतका तर्फबाट भारतीय बिदेश मन्त्री सरदार स्वर्ण सिंहले हस्ताक्षर गरेका थिए भने नेपालका तर्फबाट मन्त्रिपरिषदका उपाध्यक्ष तथा आर्थिक योजना मन्त्रि सूर्यबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार ९.११ करोड भारतीय रुपैयाको भारतीय सहयोगमा भारतीय सिमा सुनौलीबाट पोखरासम्म राजमार्ग बनाउने योजना थियो । यो राजमार्ग २०२५ सालको पुस १७ गते अर्थात १९६८ को डिसेम्बर ३१ सम्म तैयार हुने लक्ष राखिएको थियो । तर यो सडक समयमा पुरा हुन सकेन ।
दुइ वर्ष बढि लाग्यो । यसै बिच २०२७ सालको असारको पहिलो हप्ता परेको भिषण वर्षातले बनिसकेका तथा तैयारी हुँदै गरेका कतिपय सडक पैह्रो आइ क्षति पुर्यायो । यसरी प्राकृतिक प्रकोपले क्षति भएको पूननिर्माणका लागि लाग्ने खर्च ७६ लाख ३३ हजार भारतीय रुपैया नेपाल सरकारले दिने आशा राखेका थिए । तर सो रकम नेपाल सरकारले उपलब्ध गर्न नसक्ने भए पछि अन्तमा भारत सरकारले नै खर्च गरि मर्मत कार्य गरिदियो । २०२७ सालको पुस १६ गते सम्ममा राजमार्गका सडक त तैयार भयो । तर यहाँ बिचमा परेको कालीगण्डकी माथिको राम्दीको पुल भने बनेन । भारत सरकारले दुइ वर्षका लागि अवधी पून थपेर २०२८ सालको अन्त सम्म तैयार गरायो ।
अन्तत २०२९ बैशाख २४ गते तदनुसार सन १९७२ मइ ६ तारिखका दिन राजा विरेन्द्रले अटोमेटिक बटन दवाएर राजमार्गको समुद्घाटन गर्नु भएको थियो । पोखराको बिरौटामा भएको कार्यक्रम पछि राजा चढेको जीप केही किलोमिटर गुडाइएको थियो भने बस नं ११० नम्बरको टाटा बस पहिलो दिन पोखराबाट सुनौली तर्फ लागेको थियो ।
२०२६ सालतिर पोखरा काठमाडौं सडक बनेको थिएन । सुनौली पोखरा सडक बन्न थाल्दै थियो । साथै कतिपय ठाउँमा ग्रावलको काम सकिसकेको थियो भने कतिपय ठाउँमा हुदै थियो । सडकको रूपरेखा कोरिन थालेपछि नै सडकमा गाडी गुड्न पनि थालिसकेको थियो ।
पोखराका सडकमा पनि गाडी, जीप, बस तथा लरीहरू आउन थालिसकेका थिए । सामानको आपुर्ति पनि सोही सडकबाट हुन थालिसकेको थियो । पोखराका ब्यापारीहरूले भरियाबाट सामान बोकाएर ल्याउनुको सत्ता ट्रकबाट सामान ल्याउन थालिसकेका थिए ।
सडकको रूपरेखा बने पनि काली गण्डकी माथि बन्नुपर्ने पुल नबनेको हुँदा समस्या थियो । यसैले ठूला ठूला घाटहरूमा ठूला ठूला डुङ्गाहरूलाई एकअर्कोमा बाँधेर ट्रक, बस, जीप र लरीहरूलाइ तार्ने गरिन्थ्यो । यसरी नै यहा देखाइएको एक तस्विरमा राम्दीघाटमा बेलायती अन्नपूर्ण आरोहण अभियानका १४५ बक्सका सामग्री ट्रकमा तथा एक जीपलाई कालीगण्डकी तारिदैछ । यि सामग्रीहरु बेलायत देखि बम्बइसम्म पानीजहाजमा ल्याइएका थिए भने बम्बइबाट नौतनवासम्म रेलमा ल्याइएका थिए । नौतनवा पछि भने सडकबाट पाल्पाको दर्लामडाँडा सम्म ल्याइएको थियो । त्यस पछि राम्दीघाटमा फेरीबाट कालीगण्डकी तारिएको थियो । अन्य तस्विरहरु पनि राजमार्ग बन्नु अगाडि र बन्दै गरेको अवस्थाका राखिएका छन् ।
प्रतिक्रिया