मंगलबार, वैशाख ३०, २०८२

‘आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिएका छौ’

नेपालखोज २०८२ वैशाख ३० गते १३:२४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा उनले आर्थिक सुधारको प्रक्रिया थालिसकेको र त्यसलाई भविष्यमा अझ प्रभावकारी रूपमा अघि बढाउने बताएका छन् । अर्थमन्त्री पौडेलले आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी दिए ।

स्रोत सुनिश्चिताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा मितव्यितता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्याधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताए ।

‘वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी सदुपयोग गर्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ । पूँजीगत खर्च र त्यो खच नहुँदाको समस्या समाधानका लागि पनि ध्यान दिएका छौँ,’ अर्थमन्त्री पौडेलले भने ।

संसद्मा प्रस्तुत गरेपछि आगामी बजेटलाई सबैले यथार्परक भनेर मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्रीले मुलुकको विकासमा मित्रराष्ट्र र विकास साझेदारका निरन्तर सहयोगको अपेक्षा सरकारले गरेको बताए ।

प्रतिक्रिया