मंगलबार, वैशाख ३०, २०८२

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो : दयाहाङ राई

नेपालखोज २०८२ वैशाख ३० गते १६:५३

काठमाडौं । यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित छ ।

चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो फिल्मले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ ।

दयाहाङ भन्छन्, ‘नेपालमा आर्थिक क्रान्ति ल्याउनको लागि सहकारी संस्थाको स्थापना सुन्दर अभ्यास थियो । तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो ।’

उनका अनुसार ‘महाभोज’ केवल कथानक होइन, त्यो एक प्रश्न हो-यस्तो किन भइरहेको छ ? कसको महत्त्वाकाङ्क्षाले यस्तो हुन्छ ? यी सबै प्रश्नहरूको उत्तर चलचित्रले खोजेको छ । दयाहाङले चलचित्रले विशिष्ट प्रतिशत जनतालाई मात्र नभई संसारभर रहेका नेपालीहरूलाई छुने विश्वास व्यक्त गरे ।

चलचित्र ‘महाभोज’ को कथा सहकारी संस्थाका नाममा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गर्नेहरू र त्यसबाट सिर्जना भएको वर्ग सङ्घर्ष, पारिवारिक, सामाजिक तथा नैतिक सङ्कटको वरिपरि घुम्छ । चलचित्रले आर्थिक शोषणमाथिको सवाल मात्र होइन, नेपाली समाजमा पैसाको शक्ति र त्यसले जन्माउने विभाजनलाई समेत प्रश्न गर्छ ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् भने हिमाल कडरिया निर्माता हुन् । कथा तथा पटकथा सुवेदीले लेखेका छन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा बनेको ‘महाभोज’ एकै दिन नेपालसहित विदेशका विभिन्न देशमा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया