सत्य कहिल्यै लुक्दैन : चलचित्र ‘महाभोज’ का कलाकारको मध्यरातको फेसबुक पोस्टले मच्चायो सनसनी

काठमाडौं । मंगलबार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली चलचित्र उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारले एकै प्रकारको स्ट्याटस देखे- ‘सत्य कहिल्यै लुक्दैन ।’
यो वाक्यांश लेख्ने अरू कोही होइनन्, यही जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित चलचित्र ‘महाभोज’ का निर्देशक र कलाकार थिए । निर्देशक दिनेश राउत, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले ।
के यो चलचित्रको प्रचार रणनीतिको हिस्सा हो ? कि फिल्मसँग जोडिएको कुनै गहिरो सत्यले मिडियामा पुग्नुअघि कलाकारले जनतालाई सङ्केत गरेका हुन् ? चलचित्र ‘महाभोज’ सहकारी ठगी प्रकरणमा आधारित कथा हो । यही सन्दर्भमा प्रमुख अभिनेता दयाहाङ राईले भनेका छन्, ‘नेपालमा आर्थिक क्रान्तिको सपना बोकेर सहकारी स्थापना भए, तर त्यसकै पहुँचमा रहेका केही व्यक्तिले सर्वसाधारणको गाढा पसिनाको पैसा लुटे । ‘महाभोज’ त केवल फिल्म होइन, एक यथार्थ प्रश्न हो ।’
यसै कथनबाट सङ्केत पाइन्छ कि चलचित्र कुनै काल्पनिक कथा होइन, बरु समाजको गहिरो पीडा बोकेको अभिव्यक्ति हो ।
‘सत्य कहिल्यै लुक्दैन’ भन्ने यो साझा स्ट्याटसलाई कतिपयले सहकारी पीडितको पक्षमा कलाकारको ऐक्यबद्धताको रूपमा बुझेका छन् । चलचित्रमा देखिएको कथावस्तु कतै यति संवेदनशील त होइन, जसले ठुला व्यक्तित्व वा संस्थाको अनुहार देखाउने हो ? किनकि कलाकारको स्ट्याटसमा कुनै नाम वा आरोप खुलाइएको छैन, तर वाक्य आफैँले धेरै कुरा बोलिरहेको छ ।
‘महाभोज’ को कथा, निर्देशन, कलाकार र कथनलाई हेर्दा यस्तो आभास हुन्छ-यो चलचित्रले पर्दामा मात्र होइन, पर्दा पछाडिको सत्यलाई पनि उजागर गर्ने प्रयास गरेको छ । त्यही सत्य, जसलाई धेरैले दबाउन खोजे । तर कलाकारको एक स्वरले भनिदियो-‘सत्य कहिल्यै लुक्दैन ।’
अब त्यो सत्य के हो ? के चलचित्रले कुनै यथार्थ घटना खोल्न लागेको छ ? के कसैले चलचित्रमाथि दबाब दिने प्रयास गरिरहेको छ ? वा के फिल्मले केही यस्ता कुराहरू उजागर गर्छ, जसले ठुलाबडाहरूलाई असहज बनाउन सक्छ ? यी सबै प्रश्नको उत्तर अब एकै छ-‘महाभोज’ हेरेपछि थाहा हुनेछ ।
तर अहिलेलाई यत्ति भन्न सकिन्छ-नेपाली चलचित्रको पर्दा पछाडि केही चलिरहेको छ, जुन पर्दामा ‘सत्य’ को रूपमा छर्लङ्ग हुनेवाला छ ।
प्रतिक्रिया