भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो ।
आयोजनाको आज शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्घारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न लागिएको बताए । प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्गहुँदै आवत–जावत गर्नेहरुका लागि पनि पार्क उपयोगी हुने बताए । उनले भने, तीनै तहका सरकारको सामूहिक लगानीमा नमूना पार्क बनाइने छ ।
उप–प्रमुख चित्रसेन अधिकारीले वन तथा वन्यजन्तु संरक्षणमा महानगरपालिका लागिपरेको जनाउँदै यसबाट नगरवासीले फाइदा लिन सक्नुपर्ने बताए । उनले भने, हामीले वन र वन्यजन्तु संरक्षण गर्दै यसबाट फाइदा लिन सक्नुपर्छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, रामवेल सामुदायिक वनका अध्यक्ष माधव धिताल, पूर्वअध्यक्ष बेलबहादुर थापा लगायतले बोलेका थिए ।
वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले दुई करोड २३ लाख आठ हजार बजेटमा पार्क एवं खुल्ला चिडियाखाना बनाउन लागिएको बताए । सो क्षेत्रमा संग्राहलय, पाँच वटा पोखरी, वन्यजन्तु उद्घार केन्द्र, गोलघर, फुट ट्रेल लगायतका संरचना बन्ने बताए ।
प्रतिक्रिया