एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।
एशियाली विकास बैंकको सहयोगमा १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताए ।
मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको उनको भनाई छ ।
बर्खामा पूर्वपश्चिम राजमार्गमा आजतजावत नरोकिने गरी मुख्य सडकबाटै यातायात सञ्चालन गर्न सकिने वातावरण तयार पारिने जनाउँदै उनले निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले गरिरहेको कामको प्रगति अनुगमन भइरहेको बताए ।
हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माणमा विलम्ब नगर्न पटकपटक पत्राचार गरिरहँदा समेत निर्माण कम्पनीको प्रगति सन्तोषजनक नरहेको उनले बताए ।
सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षात्मा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम बढेको भनेर जनगुनासो समेत आइरहेको छ ।
काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख पन्तले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गर्ने तयारी रहेको बताए । उनले वर्षात्को समयमा पनि सडकको काम नरोकिनु जानकारी दिए । -रासस
प्रतिक्रिया