‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

म्याग्दी । बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत वडा नं १ रत्नेचौरका महिलाहरूलाई बाँसका सामग्री बनाउने तालिम प्रदान गरिएको छ ।
महिलालाई आयआर्जनमूलक व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन भएको कार्यक्रममार्फत १६ जना महिलालाई बाँसबाट सजावटका सामग्री र मुडा बुन्ने १५ दिने तालिम दिइएको हो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले रत्नेचौर र अर्जममा थप ७० जना महिलालाई व्यवसायिक च्याउखेतीसम्बन्धी तालिम दिने, बीउ र प्लास्टिक घर सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
तालिममा सहभागी यामु थापाले बाँस र चोयाबाट मुडाका साथै स्ट्रे, फूलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी बनाउन सिकेको बताए । व्यावसायिक रूपमा सामान उत्पादन गरेर प्रशस्त मात्रामा पाइने बाँसको प्रयोग र सीपको सदुपयोग गर्ने योजना रहेको थापाले बताए ।
समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन यस वर्ष बेनी नगरपालिकाले रत्नेचौर र वडा नं ५ पुलाचौरमा कार्यक्रम सञ्चालन गरेको छ ।
पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउखेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाइकटाइ तालिम प्रदान गरिएको छ ।
च्याउखेती र धुप बनाउने समूहलाई दुईरदुई दिन तालिम, बीउ, एकरएक वटा टनेल सहयोग गरिएको छ । तीन महिने सिलाइकटाइ तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ ।
प्रतिक्रिया