‘ऊनको स्वीटर’ ले अन्तर्राष्ट्रिय बजार तताउँदै : अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्व हुँदै युरोपसम्मको यात्रा

काठमाडौं । नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ । लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो चलचित्रले रिलिजको पहिलो सातामै नेपालमै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै पहिलो ‘हिट’ चलचित्र बन्न सफल भएको छ ।
अहिले ‘ऊनको स्वीटर’ संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरमा एकै पटक प्रदर्शन भइरहेको छ । न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्ससदेखि वासिङ्टन, ओहायोदेखि फ्लोरिडा सम्मका विभिन्न सहरहरूमा नेपाली दर्शक आफ्नो नजिकको सिनेमा हलमै यो चलचित्र हेर्न पाएका छन् । अमेरिका भरिका नेपाली समुदायमा चलचित्रप्रतिको उत्साह देखिँदै गएको छ, जुन टिकटका अग्रिम बुकिङ र हलहरूको भरिभराउ अवस्थाबाट स्पष्ट हुन्छ ।
त्यस्तै, अस्ट्रेलियामा पनि चलचित्रले रिलिज भएको पहिलो दिनदेखि नै हाउसफुल शोहरू दिइरहेको छ । सिड्नी, मेलबर्न, ब्रिसबेन लगायत सहरहरूमा नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको वितरकहरूले जनाएका छन् ।
क्षेत्रगत रूपमा अमेरिकामा पूर्वोत्तर क्षेत्रका म्यासाचुसेट्स, न्यु ह्याम्पशायर, कनेटीकट र न्युयोर्कमा मीड-अटलान्टिक क्षेत्रमा पेनसिल्भेनिया, मेरिल्यान्ड, भर्जिनिया, वासिङ्टन र डि.सी.मा मिडवेस्ट क्षेत्रमा ओहायो, इलिनोइस, आइओवा, विस्कन्सिन, मिसौरी, नर्थ डकोटा र केन्टकीमा साउथईस्ट क्षेत्रका जर्जिया, फ्लोरिडा र टेनेसीमा साउथ सेन्ट्रल क्षेत्रको टेक्ससमा माउन्टेन वेस्ट क्षेत्रको कोलोराडोमा पश्चिमी तटमा वासिङ्टन र क्यालिफोर्नियामा ’ऊनको स्वीटर’ रिलिज भइरहेको छ ।
यस्तै, जापानका प्रमुख सहर जस्तै योकोहामा, ओकिनावा, क्युसु, फुकुओका, कुमामोटो, कुरुमे, कोबे, गिफु, नागोया, ओसाका, टोकियो, चिबा र नरितामा ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ । नेपाली समुदाय रहेको अधिकांश जापानी सहरमा चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
त्यस्तै, दक्षिण कोरियामा पनि मे ११ देखि जुन १ सम्म सियोल, किम्हे, सुवोन, मोक्तो, किम्पो, फुयो, जिन्छान, ओन्याङ ओन्छान र फाजु जस्ता सहरमा शो तय गरिएका छन् । कोरियामा रहेको नेपाली विद्यार्थी र कामदार समुदायबाट उत्साहजनक साथ मिलिरहेको छ ।
प्रतिक्रिया