सगरमाथा आरोहणबारे अनुगमन गर्न पर्यटनमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आधार शिविरमा

काठमाडौं । यस वर्षको सगरमाथा आरोहण सुरु भएसँगै आरोहणको अवस्थाबारे स्थलगत अनुगमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा बेस क्याम्प पुगेको छ ।
नेपाल पर्यटन बोर्डको संयोजनमा मन्त्री पाण्डेको नेतृत्वको प्रतिनिधिमण्डलमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रमेश लेखक, पर्यटन राज्यमन्त्री अरुण चौधरी, पर्यटन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, नेपाल पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मी, नेपाल माउन्टेनिएरिङ एसोसियसनका अध्यक्ष निमा नुरु शेर्पालगायतको प्रतिनिधिमण्डल सगरमाथा आधार शिविर पुगेको हो ।
सगरमाथा आधार शिविरमा आयोजित विशेष कार्यक्रममा जलवायु परिवर्तन, हिमाली जीवन, पर्वतारोहण श्रमिकको सुरक्षा र पर्यटन नीतिमा आवश्यक समावेशी सुधारबारे विस्तृत छलफल गरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कीर्तिमानी आरोही कामिरिता शेर्पा, आइसफल डाक्टर, गाइड, श्रमिक प्रतिनिधि, लियाजो अफिसर तथा स्थानीय संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा पर्यटनमन्त्री बद्री पाण्डेले जेठ ७ गते आयोजना हुने ‘टुरिजम् डाइलग’ कार्यक्रममा सगरमाथा क्षेत्रका चुनौती, सम्भावना र समाधानका उपायबारे प्रधानमन्त्रीकै नेतृत्वमा गम्भीर छलफल हुने जानकारी गराए ।
कार्यक्रममा सहभागी गृहमन्त्री लेखकले सगरमाथा र शेर्पा समुदाय नेपालको पहिचान भएको उल्लेख गर्दै सरकार तिनको सम्मान र सुरक्षाप्रति गम्भीर रहेको बताए । उनले भने, ‘नेपाल सगरमाथा र शेर्पाले चिनिन्छ । शेर्पालाई सम्मान गर्ने कुरामा कुनै कमी राखिने छैन । सगरमाथामा हुने क्रियाकलापसँग जोडिन चाहन्छु र यहाँका समस्या समाधान गर्ने कुरामा हामी लाग्नेछौं ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पर्वतारोहण क्षेत्रको दिगो विकास र हिमाली पर्यटनको गुणस्तर वृद्धि गर्न बोर्डले नीतिगत तथा कार्यगत स्तरमा लिएको प्राथमिकता स्पष्ट पारेका छन् । उनले भने, “सगरमाथा जस्तो विश्वप्रसिद्ध गन्तव्यलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार बनाउने दिशामा बोर्ड क्रियाशील छ । स्थानीय सहभागिता, श्रमिक कल्याण, र वातावरणीय संवेदनशीलता हाम्रो कार्यदिशाको मूल मर्म हो ।”
जोशीले सरकारसँग सहकार्य गर्दै हिमाली पर्यटनलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने दीर्घकालीन योजना अघि बढाइरहेको बताए ।
कार्यक्रममा सहभागी आरोही र गाइडले आरोहणका क्रममा देखिएका प्राविधिक र व्यवस्थापकीय समस्याहरूबारे जानकारी गराएका थिए । उनीहरूले क्याम्प ४ पुगेपछि मोबाइल सेटमा ‘चाइना टाइम’ देखिनु, ड्रोन उडाउँदा ‘प्रतिबन्धित क्षेत्र’ देखिनु, र हालसम्म स्पष्ट डिजिटल म्यापिङको अभावजस्ता विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा सगरमाथा क्षेत्रको पर्यावरणीय संवेदनशीलता, मानव केन्द्रित व्यवस्थापन र दीर्घकालीन पर्यटन दृष्टिकोणका विषयमा सहभागीहरूले ठोस सुझावहरू प्रस्तुत गरेका थिए । गृहमन्त्री, पर्यटनमन्त्री र पर्यटन बोर्डका सीईओले यी सबै सुझावलाई नीति निर्माण र क्रियान्वयनमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया