रविको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’ इजलासमा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि पहिलेकै न्यायाधीशसहितको इजलासमा परेको छ ।
रविलाई गैर कानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको हाे ।
लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराइसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिटमाथि पनि पेसी तोकिएको छ । यी तीन रिट लगाउमा राखिएको छ ।
इजलास तोकिएका न्यायाधीश पोखरेल अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा बहस गरेकाले यसअघि पनि उक्त रिट हेर्न नमिल्नेमा गएको थियो ।
यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेलको इजलासमा पेसी तोकिँदा हेर्न नमिल्ने भनेर सुनुवाइ गरिएन । यो निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको आज पाँचौँपटक हो ।
प्रतिक्रिया