आइतबार, जेठ ५, २०८२

सहकारी ठगीको कथालाई उठाउँदै चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक

नेपालखोज २०८२ जेठ ५ गते १७:२१

काठमाडौं । यही जेठ १५ गते रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा-राइजिङ मलमा आयोजित समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै चलचित्र युनिटले चलचित्रले उठाउने समसामयिक विषयवस्तुका बारेमा पत्रकार तथा प्रेक्षकलाई परिचित गराए ।

ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितको मार्मिक कथा उठाएको छ । यसमा प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन् । ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेको दम्भ झल्किन्छ ।

आफूले दैनिक जम्मा गरेको रकमको कारण मृत्युमा समेत परिणत भएको विपन्न सदस्यहरूको दृश्यले सामाजिक असमानताको गम्भीर रूप प्रकट गर्दछ । सहकारी संस्थामा पहुँच राख्नेले आफ्नो पद र पदवीको फाइदा उठाउँदै कसरी सर्वसाधारणको रकमलाई निजी विलासी जीवनमा प्रयोग गर्छन् भन्ने कथानकलाई ट्रेलरले साहसिक रूपमा उजागर गरेको छ ।

ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले चलचित्रले वास्तविक सत्यको खोजी गर्न प्रतिबद्ध देखिएको छ । केही दिनअघि चलचित्रका सबै कलाकारले आफ्नो सामाजिक सञ्जालमा एउटै स्ट्याटस ‘सत्य कहिल्यै लुक्दैन’ पोस्ट गरी उत्सुकता फैलाएका थिए ।

विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया