आइतबार, जेठ ५, २०८२

क्यान्सर उपचारका क्षेत्रमा नेपालले गरिरहेको सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्य मन्त्री पौडेलको अन्तक्रिया

नेपालखोज २०८२ जेठ ५ गते १७:४९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर उपचार क्षेत्रमा सहकार्यका लागि स्वीट्जरल्याण्डका स्वास्थ्य क्षेत्रमा सक्रिय विज्ञसँग अन्र्तक्रिया गरेका छन् । युरोपमा क्रियाशिल नेपाली स्वास्थ्यकर्मीको समाजद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले क्यान्सर उपचार तथा अनुसन्धानका क्षेत्रमा क्रियाशिल स्वीस विज्ञसँग क्यान्सरको उपचारका क्षेत्रमा नेपालले गरिरहेका प्रयास तथा त्यसमा सहकार्यका क्षेत्रबारे कुराकानी गरेका हुन् ।

मन्त्री पौडेलले नेपालमा क्यान्सर प्रमुख स्वास्थ्य चुनौती बनिरहेको भन्दै यससँग जुध्नका लागि नेपालले उपचार सुधार तथा रोग लाग्न नदिन देशव्यापी परीक्षण अभियान र खोप कार्यक्रम सञ्चालन गरिरहेको बताए । मन्त्री पौडेलले बाल क्यान्सरको निःशुल्क उपचार, किशोरीविरुद्ध राष्ट्रव्यापी खोप अभियान तथा क्यान्सर सेवा प्रादेशिक अस्पतालहरुमा विस्तार लगायत कामले क्यान्सरका क्षेत्रमा सकारात्मक नतिजा ल्याउने उल्लेख गर्दै जटिल दीर्घरोगीको स्याहारका लागि रणनीतिसमेत लागु गरेको बताए ।

उनले स्वीट्जरल्याण्ड र युरोपबाट नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य भैरहेको भन्दै आभार प्रकट गरे ।
बनै विश्वविद्यालयको हाइपरर्थमिया युनिटका प्रमुख डा. इममानुयल स्टुट्जले क्यान्सर उपचारका क्षेत्रमा धेरै सुधार भैरहेको भन्दै कम लागतमा छोटो समयमा प्रभावकारी उपचार सेवा प्राप्त गर्न सकिने भन्दै नेपालमा समेत यस्तो प्रविधि प्रसार गर्न सकिने बताए । बर्न विश्वविद्यालयको प्रशामक सेवा सह निर्देशक डा. मोनिका फ्लेडरले क्यान्सर उपचारमा प्रशामक सेवाको महत्वपूर्ण योगदान हुने भन्दै नेपालमा समेत यस्तो सुविधा विस्तार हुन लागेको खबर सकारात्मक भएको बताइन् ।

सहयोगी संस्था चाए या स्वीट्जरल्याण्डका करिन गसरले संस्थाका तर्फबाट नेपालमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग भैरहेको बताए । कार्यक्रमको आयोजक युरोपमा क्रियाशिल नेपाली स्वास्थ्यकर्मीको समाजका अध्यक्ष डा. विनय श्रेष्ठले मन्त्रालयले डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीलाई देशससँग् जोड्न नेपाल हेल्थ कन्क्लेभले योगदान दिएको बताए ।

उनले नेपालको स्वास्थ्य सुधारमा मन्त्री पौडेलले सकारात्मक प्रयास गरेको भन्दै चिकित्सकको हकहितका पक्षमा लिएको अडानको सराहना गरे । उनले स्वीट्जरल्याण्ड तथा युरोपसँग नपालले स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सक्ने भन्दै आफूहरुले यसमा सहजीकरण गर्ने बताए ।

जेनेभास्थित नेपाली राजदूत रामप्रसाद सुवेदीसमेत सहभागी कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारी, युरोपमा क्रियाशिल नेपाली चिकित्सक, गैरआवासीय नेपाली संघका पदाधिकारी लगायत सहभागी थिए ।

प्रतिक्रिया