सोमबार, जेठ ६, २०८२

सात वर्षमा पनि बनेन दैजी–जोगबुढा सडक

नेपालखोज २०८२ जेठ ६ गते ६:००

दोधारा चाँदनी (कञ्चनपुर) । ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निमार्ण सम्पन्न हुन सकेको छैन ।

विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएको सात वर्ष बित्दा नौ किलोमिटर सडक खण्डमात्रै कालोपत्र भएको छ । हालसम्म सडक निमार्णका लागि पाँच पटक म्याद थप भएको छ ।

यही २०८२ असार २० गते निमार्ण सम्पन्न गर्ने गरी पाचौँ पटक म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निमार्ण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ ।

डडेल्धुराको भित्रिमधेशका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गरी महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता छ ।

‘यो सडक निमार्ण नहुँदा भित्रिमधेशका जनताले धेरै समस्या खेप्नु परेको छ’, परशुराम नगरपालिका–९ का वडा अध्यक्ष देवबहादुर बोहराले भने, ‘सडक निमार्ण भइदिएको भए यहाँ उत्पादन भएका दाल तरकारी महेन्द्रनगर बजार बिक्री गर्न सहज हुन्थ्यो ।’

सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा निमार्ण गरिएका ‘ड्रेन’समेत पुरिन थालेको स्थानीय राम धामीको भनाइ छ । डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्प समेत हो ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निमार्णका लागि पाचौँ पटक म्याद थप गरिएको भएपनि सडक निमार्ण सम्पन्न हुन नसकेको जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ । -रासस

प्रतिक्रिया