तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

काठमाडौं । तारालाल श्रेष्ठको पाचौं अनुसन्धान पुस्तक साइकल सौन्दर्य नेपाल पर्यटन बोर्ड काठमाडौंमा बिमोचन सम्पन्न भएको छ । कार्यक्रममा लेखक, कलाकार तथा साहित्यकारसँगै साइक्लिस्टहरुको बाक्लो उपस्थिति थियो ।
नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविश्यबारे साङ्गोपाङ्गो दस्तावेजीकरणको अभाव खडकिरहेको सन्दर्भमा श्रेष्ठको यस किताबले नयाँ खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न गहन योगदान पुर्याउने विश्वास कार्यक्रममा सहभागी अतिथिहरुले व्यक्त गरे ।
कार्यक्रममा भुइतहबाट साइकल शिक्षक तथा सिर्जनात्मक साइकल अभियान सञ्चालनमा ओगदान गरिआएका अगुवाहरु वक्ताका रुपमा उपस्थित थिए । जेन जी पुस्तालाई साइकल शिक्षणमा सघाइ आएका युवा अभियन्ता तानिया श्रेष्ठदेखि विश्व साइकल यात्री पुस्कर शाहसम्म कार्यक्रममा उपस्थित भई साइकल साहित्य तथा अभियानबारे विभिन्न कोणबाट विमर्श गरिएको थियो । कलाकार सरिता डंगोलले महिला स्वतन्त्रता र स्वाधीन कला सिर्जनासँग साइकल संस्कृति जोडेका थिए । अस्मिता राजवंशीले दिदी बहिनीलाई साइकल सिकाउदाका अनुभवसहित नेपाली साइकल संस्कृतिमा यस खालका किताबको उल्लेखनीय योगदान रहने विश्वास व्यक्त गरिन् ।
मायालक्ष्मी महर्जनले स्वयम्भूमा महिला साइकल शिक्षणबारे अनुभव बाडिन् । क्यान्सर जितेर सक्रिय साइक्लिङ गरिरहेकी कविता चित्रकारले आफ्नो अनुभव सुनाउदा सहभागीमाझ गहिरो सन्नाटा छाएको थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. पवन शर्माले नियमित साइकल चलाउँदा हुने स्वास्थ्यलाभबारे आफ्नो अनुभवसहित तथ्य प्रस्तुत गरे । साइकल कनेक्ट भक्तपुरका अध्यक्ष ई. सुमित बालाले तारालाल श्रेष्ठको किताबले नेपालको साइकल इतिहाससहित वर्तमान र भविश्यको गन्तव्य मार्ग प्रशस्त गरेको बताए ।
बिमोचन कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङले साइकल र उर्जासँगको सम्बन्धलाई जोड्दै भविश्यमा नेपालको हरित उर्जा हाइड्रोजन शक्तिमा नेपाल निकै अगाडि देखा परेको आशावादी तथ्य प्रस्तुत गरे । उनले कुनै पनि क्षेत्रका अगुवाले आत्मशक्ति बढाउने खालका अभिव्यक्ति दिनुपर्ने, वृहत्तम हितका गतिविधि गर्नुपर्ने र जनमानसमा सकारात्मक उर्जा भर्नुपर्ने कुरामा जोड दिँदै त्यस किसिमको चेतना फैलाउन श्रेष्ठको साइकल सौन्दर्य पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
डिस्कोर्स पब्लिकेशनले प्रकाशन गरेको साइकल सौन्दर्य किताबले २५ अध्यायमा अटोएथ्नोग्राफ्रिक वर्णन वीधिबाट मेचिदेखि महाकाली तथा तराईदेखि मिथकीय हिमालसम्मका नेपालका साइकल समुदायका सत्य कथाहरु समेटेको छ ।
प्रतिक्रिया