थाइल्याण्डले कर अनिश्चितताको कारण वृद्धिको पूर्वानुमान घटायो

बैङ्कक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएको व्यापार शुल्कको अनिश्चितताका कारण थाइल्याण्डले सन् २०२५ को आर्थिक पूर्वानुमानमा कटौती गरेको वरिष्ठ अधिकारीहरूले सोमबार बताएका छन् ।
वासिङ्टनले प्रस्ताव गरेको विश्वव्यापी ‘पारस्परिक’ करको एक हिस्साको रूपमा थाइल्याण्डले जुलाईसम्ममा कर कटौती गर्न सहमत नभएमा ३६ प्रतिशत करको सामना गर्नुपर्नेछ । राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद् (एनईएसडीसी) को कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले वृद्धि भएको छ ।
यद्यपि, थाइल्याण्डले यस वर्षको वृद्धिको अनुमानलाई २.३ प्रतिशतदेखि ३.३ प्रतिशतबाट १.३ प्रतिशत र २.३ प्रतिशतको बीचमा झारेको छ । एनईएसडीसीका महासचिव दानुचा पिच्याननले सन् २०२५ मा पर्यटकको सङ्ख्यामा आउने अनुमानित गिरावटका साथै शुल्क अनिश्चिततालाई दोष दिएका छन् ।
व्यापार वार्ता अझै सकिएको छैन र धेरै देशहरू छलफलका लागि लाइनमा बसेका छन्, उनले एक पत्रकार सम्मेलनमा भने । उनले व्यापार वार्ताको नतिजा नआउँदासम्म निजी क्षेत्रले लगानी गर्न ढिलाइ गरेकाले दोस्रो त्रैमासिकमा आर्थिक अवस्था सुस्त हुने सम्भावना रहेको बताए । थाइल्याण्डले पनि सन् २०२५ मा चिनियाँ पर्यटकको आगमनको अनुमान तीन करोड ८० लाखबाट घटाएर तीन करोड ७० लाखमा झारेको छ ।
प्रतिक्रिया