सोमबार, जेठ ६, २०८२

मनसुनजन्य विपद् प्रतिकार्य योजनको लागि तयारी हालतमा रहन सशस्त्रको निर्देशन

नेपालखोज २०८२ जेठ ६ गते १५:२२

काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सबै युनिट कमाण्डरलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाको लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट आइतबार अतिरिक्त महानिरीक्षक पौडेलले अघिल्ला वर्षमा भएको विपद्का घटनालाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा विपद् व्यवस्थापनका सामान तयारी हालतमा राख्नुकोसाथै विपद् सम्बन्धि अनुशिक्षण तथा अभ्यास संचालन गर्न निर्देशन दिएका हुन ।

उनले विपद् भएको स्थानमा छोटोभन्दा छोटो समयमा पुग्नसक्ने गरी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति तयारी हालतमा राख्नुकोसाथै टोलटोलमा विपद् सूचक राखी समुदाय लक्षित विपद्सम्बन्धी स्वयंसेवक तालिम समेत संचालन गर्न निर्देशन दिएकाछन् ।

अतिरिक्त महानिरीक्षक पौडेलले मनजसुनजन्य विपद् घटनामा क्षती न्यूनिकरणको लागि सकेसम्म घटनास्थलमा छिटोभन्दा छिटो पुगी उद्धार गर्न निर्देशन दिएका छन् । साथै यस विषयमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले परिपत्र समेत गरेको छ ।

भर्चुअल मिटिङ्गमा सबै प्रदेशका बाहिनीपतिले आ-आफ्नो क्षेत्रमा भएका विपद् उद्वारको तयारीबारे जानकारी गराएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लदार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया