नारायणी नदीमा अधिकांश फोहर प्लास्टिकजन्य, देवघाट क्षेत्रमा मात्रै ७२.२४ प्रतिशत

नारायणगढ (चितवन) । चितवनस्थित नारायणी नदीमा प्लास्टिकजन्य फोहर अधिक मात्रामा भेटिएको छ । यहाँका विभिन्न सङ्घ संस्थाहरुले संयुक्त रुपमा ‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहर बढी भेटिएको हो ।
परियोजनाकी संयोजक आकृति सुवेदीका अनुसार प्लास्टिकजन्य फोहोरको हिस्सा ४२ दशमलव ५५ प्रतिशत छ । जसमध्ये देवघाट क्षेत्र प्लास्टिकबाट थप प्रभावित बनेको छ । देवघाटमा ७२.२४ प्रतिशत प्लास्टिकका फोहर देखिएको छ ।
त्यसैगरी नदीमा दोस्रोे र तेस्रो प्रदूषणका रुपमा १७.१४ प्रतिशत कपडाजन्य फोहार र सिसा १२.६२ प्रतिशत रहेका छभने जैविक फोहोर ७.८९ प्रतिशत देखिएको छ । सो क्षेत्रअन्तर्गत नदीको सबैभन्दा बढी फोहर नारायणगढको नगरवन क्षेत्रमा २२.७ प्रतिशत र कम फोहोर नारायणगढकै जोरकुसुम पार्कमा ८.६ प्रतिशत देखिएको छ ।
नदीको शिवघाट क्षेत्रमा १९.६ प्रतिशत नारायणगढको नदी किनार प्रदर्शनी क्षेत्रमा १७।२ प्रतिशत, गोलाघाटमा १६।५ प्रतिशत र देवघाट क्षेत्रमा १५।४ प्रतिशत फोहर फेला परेको अध्ययन टोलीको निष्कर्ष छ । अभियानका फोहोर लेखापरीक्षक इञ्जिनियर सागर कार्कीले डाइपर, औषधिजन्य फोहर र रासायनिक बस्तुहरुको व्यवस्थापनमा कमजोरी हुँदा नदीसम्म पुग्ने गरेको बताए ।
उनले देवघाटबाट बगाएका अधिकांश फोहर गोलाघाट क्षेत्रसम्म पुगेको हुँदा सबै स्थानमा फोहरको सही व्यवस्थापन आवश्यक रहेको बताए । बढ्दो सहरीकरण र अव्यवस्थित फोहरका कारण नदी सङ्कटमा परेकाले नदी किनाराका तीर्थस्थल, घाट क्षेत्र, पर्यटकीय क्षेत्रमा फोहर सङ्कलन गर्ने भाँडाहरु राख्नुपर्ने तथा ढल नदीमा मिसाउन नहुने जैविक फोहर व्यवस्थापनमा जोड दिनुपर्ने र कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने उनको भनाइ छ ।
अभियानमा आबद्ध संस्था सहमतिको परियोजना संयोजक खेमराज खनालले नारायणी नदी प्रदूषणमा प्लास्टिक प्रमुख समस्याको रुपमा पहिचान गरिएको बताउनुभयो । नदीको भविष्यलाई बचाउन सरकारले नीति बनाएर नै लाग्नुपर्ने उहाँको भनाई छ । ‘नदीसँगै हामी’ अभियानमा चितवन र नवलपुरका १३ वटा संस्था आबद्ध छन् । -रासस
प्रतिक्रिया